सन्तोषको ‘फरैना’ लोकार्पण

Read Time = 3 mins

काठमाडौं । सयौं गीतमा समधुर संगीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल सन्तोष श्रेष्ठ उपन्यासकारमा रुपमा आउनुभएको छ । उहाँको पहिलो उपन्यास कृति ‘फरैना’ पाठकमाझ आएको छ । काठमाडौंमा एक विशेष सामारोहबीच उहाँको उपन्यास कृति ‘फरैना’ विमोचन गरिएको हो ।

सांसद शान्ता चौधरी, गीतकार डा. कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा. भीमार्जुन आचार्य र नायक राजेश हमाल अनि उपन्यासकार श्रेष्ठले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको हो ।

गीत संगीत, साहित्य र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गर्नुभयो । ‘यो उपन्यासका हरेक पानाहरू पढ्दै जाँदा आफ्नो अतितका दिनहरूमा फर्कन बाध्य भएँ, जुन कुराहरू म बिर्सन कोशिस गरिरहेको हुन्छु ।’ सांसद चौधरीले भन्नुभयो, ‘सन्तोष श्रेष्ठले हैन कि कोही सन्तोष थारुले लेखेको जस्तो महसुस भयो ।’

यस्तै, डा. कृष्णहरि बरालले प्रकृतिको सुन्दर चित्रणसहित मानवीय संवेदनालाई यस उपन्यासले जबर्जस्त प्रस्तुत गरेको बताउँदै गायक र संगीतकारका रुपमा उचाईमा पुगेको सन्तोषको व्यक्तित्वमा अब उपन्यासकार जोडिएको बधाई तथा शुभकामना दिनुभयो ।

त्यस्तै, डा. भिमार्जुन आचार्यले बनोट र बुनोटका हिसाबले हेर्दा अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गर्नुभयो ।
त्यसैगरी, महानायक राजेश हमालले यस कृतिमा संवेदनलाई सरलीकरण गरिएको सुन्दर नमुना यस उपन्यासको विशेषता रहेको जिकिर गर्नुभयो ।

कृतिकार श्रेष्ठले आफनो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको बताउनुभयो । ‘यसलाई मैले आफ्नो संवेदनाको प्रतिरूप मानेको छु’, उहाँले भन्नुभयो । उहाँले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको अनुभव उहाँले सुनाउनुभयो ।
थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुःख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?