एक लाख १५ हजार म्यादी प्रहरीका लागि दर्खास्त आह्वान

पूर्वप्रहरी तथा यसअघिका म्यादी प्रहरीलाई प्राथमिकता दिइने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

कार्यालयल‍े आइतबार एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना विज्ञापन खुलाएको हो। आवेदक दरखास्त फारम १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले मात्र भर्न पाउनेछन् ।

नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ । सार्वजनिक बिदाको दिनसमेत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ ।

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ।

यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरीको संख्या बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तालिम प्रदान गर्न सहज र खर्च व्यवस्थापन कम गर्न पूर्व प्रहरी तथा यसअघि खटिएका म्यादी प्रहरीलाई निर्वाचनमा खटाउने गरी प्रहरी प्रधान कार्यालयले कार्ययोजना तयार पारेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?