बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । भैंसी चराउन जानुभएका माडी नगरपालिका-२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किनुभएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।

प्रहरीले आज (आइतबार) बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो।

शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उहाँको छोरा २५ वर्षीय होमबहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन जानुभएको थियो । छोराले आफुले भैंसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किनुभएका सूर्यनाथ बाटोबाटै बेपत्ता हुनुभएको थियो ।

छोरा होमबहादुर साँझ भैंसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उहाँको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उहाँले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटोसमेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनी आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उहाँको शव फेला पारेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?