कृषिमा आधारित उद्योगहरुको विकासबाट नै देशको आर्थिक स्थिति बलियो बन्छः अध्यक्ष दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताउनु भयो । अध्यक्ष दाहालले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०/६० वर्ष अगाडी हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ । अहिले उल्टो भयो किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो । हामी धेरै पढ्यौँ, लेख्यौँ । धेरै जान्ने सुन्ने पनि भयौँ । तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडी होइन पछाडी गएको देखिनु ठूलो चुनौती हो । त्यसकारण हामीले हामीसँग भएको जलको सहि सदुपयोग गर्ने, पर्यटनको विकासको निम्ति हामीले आवश्यक सबै पूर्वाधारको विकास गर्ने कुरा वा जडिबुटी र खनिजको विकास गर्ने कुरा त छँदैछ । तर रणनीतिक रुपमा, दिर्घकालिन नेपाल र नेपालीको हीत हेर्दा कृषिमा नै क्रान्ति ल्याउने कुरा, कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नै हाम्रो लागि दिगो छ । हाम्रो निम्ति आवश्यक छ । म तपाई सबै साथीहरुको यतापट्टी विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । र तपाईहरु यसमा चिन्तन, मनन गर्नुहोस् ।’

उहाँले युवाहरु उद्यमशिल हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताउनु भयो । अध्यक्ष दाहालले धन, सम्पती कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरुको आत्मसम्मान हुनेगरी सम्पती आर्जन गर्न युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष दाहालले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?