एएफसी यू-२० : पहिलो खेलमा नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोटको पहिलो खेलमा पराजय भोगेको छ । बहराइनस्थित खलिफा स्पोर्ट्स रंगशालामा भएको खेलमा भुटानले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो ।

भुटानले दुवै हाफमा एक–एक गोल गरेको थियो । ३३औं मिनेटमा भुटानले सोनाम चोजाङको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा कर्मा टासी जाम्सोले दोस्रो गोल गर्नुभयो । इन्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । अभिषेक वाइबाले विपक्षी खेलाडीलाई फल गरेपछि उहाँलाई रेफ्रीले सिधै रातो कार्ड दिएका थिए । खेलपछि नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको बताउनुभएको छ । उहाँले भुटानविरुद्ध यो खराब नतिजा भएको बताउनुभयो ।

‘पक्कै पनि नतिजाको हिसाबमा नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने त होइन । हामीले पनि स्वीकार्न सकेका छैनौं,’ प्रशिक्षक केसीले भन्नुभयो, ‘बहराइनको मौसममा घुलमिल हुन नसक्दा नेपाली खेलाडीले उत्कृष्ट खेल्न सकेनन् । बहराइन हामी एक दिनअगाडि आइपुग्यौं । हामी यहाँको टाइम, यहाँको तापक्रममा घुलमिल हुन सकेका छैनौं । जस्तो खेलाडीहरू धेरैजना बिरामी, खेलाडीको ज्यानमा शक्ति नै नभएको जस्तो भयो । हिजो हामीले साँझ ट्रेनिङ गर्‍यौं । त्यसले झन् घाटा गर्‍यो ।’

यही टोली गत वर्ष सम्पन्न साफ यू–२० च्याम्पियनसिपमा भने तेस्रो बनेको थियो । साफ यू-२० च्याम्पियनसिपमा भुटानले भने सहभागिता जनाएको थिएन । एएफसी यू–२० छनोटको यस समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन् ।
एएफसी यू–२० छनोटमा अब नेपालले आज (सोमबार) कतारको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ ।

एएफसी यू–२० मा सहभागी १० समूहबाट सबै शीर्ष टोली र उत्कृष्ट पाँच दोस्रो स्थानको टोली अन्तिम चरणका लागि अघि बढ्नेछन् ।
खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुवै हाफमा एक-एक गोल गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?