दोर्दी करिडोर प्रसारण लाइन सञ्चालन

Read Time = 3 mins

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीशहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेशनसम्मको प्रसारण लाइनमा आइतबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो ।

१३२/११ केभी कीर्तिपुर सबस्टेशन यसअघि आंशिकरूपमा सञ्चालनमा रहेकोमा अब पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । प्रसारण लाइन सञ्चालनसँगै सो करिडोरमा निजी क्षेत्रले निर्माण गरेका चार जलविद्युत् आयोजनाको ७२ मेगावाट विद्युत् कीर्तिपुर सबस्टेशनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताउनुभएको छ । पौडेलका अनुसार दोर्दी खोलामा निर्माण भएको जलविद्युत् आयोजनाको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत् उदीपुर सबस्टेशनमा जोडिनेछ । उदीपुर सबस्टेशन निर्माण गर्न केही समय लाग्ने देखिएपछि आयोजनाहरूको विद्युत् वैकल्पिक व्यवस्थामार्फत् हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । जसका लागि निर्माणाधीन २२० केभी मस्र्याङ्दी करिडोरको करिब छ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेशन निर्माण गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?