छोरी जोगाउनै मुस्किल

यौन अपराधका घटना कायमै : प्रहरी

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

विवेक खड्का/हिटा
दाङ । दाङको एक विद्यालयमा अध्ययनरत कक्षा ५ मा पढ्ने एक बालिकाले विद्यालयकी शिक्षिकालाई भनिन्- ‘म्याम म त प्रहरीमा जान्छु । प्रधानाध्यापकसमेत रहेकी शिक्षिकाले आश्चर्य मान्दै उनलाई सोधिन- ‘किन ?’ बालिकाले रुँदै भनिन्- ‘म बस्दै आएको घरमा मलाई बलात्कार गरिरहन्छन् ।’ उनको उमेर करिब १० वर्षको भयो । उनका अभिभावक छैनन् त्यसैले उनी अरूकै संरक्षणमा बस्छिन् । महिनावारीसमेत नभएकी घोराहीकी ती नाबालिकको पीडा एक सार्वजनिक कार्यक्रममा सुनाउँदै सरकारी विद्यालयकी ती प्रअले भनिन्– ‘छोरी किशोरी कसरी जोगाउने हो जताततै हिंसा छ ।’

शिक्षिकाले सुनाएको घटनाका पात्रजस्तै हिंसामा पर्ने महिला र किशोरी जताततै रहेको तथ्यांकले देखाएको छ । गुपचुप रहने घर र आश्रयस्थलमा मात्रै होइन, सार्वजनिक स्थानमा पनि आँकलन गरेभन्दा धेरै हिंसाका घटना भएको तथ्यांकले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले २०७८ मा दाङ, मोरङ र उदयपुरका ३२१ जनामा गरेको अध्ययनले सार्वजनिक क्षेत्र पनि सुरक्षित नभएको देखाएको छ । तथ्यांकले सबैभन्दा धेरै सार्वजनिक यातायातमा ४० प्रतिशत अर्थात् १२७ जनाले आफूमाथि हिंसा भएको बताए । सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाहरू असुरक्षित हुने गरेको अध्ययनका क्रममा उनीहरूले बताए । यसैगरी १० प्रतिशतले सार्वजनिक बाटोमा, नौ प्रतिशतले शैक्षिक संस्थामा, सात प्रतिशतले सार्वजनिक स्थानमा हुने भिडभाडमा, छ प्रतिशतले एकान्त ठाउँमा आफूमाथि हिंसा हुने गरेको बताए ।

तथ्यांकले पाँच प्रतिशतमा बजार क्षेत्र वा सार्वजनिक स्थलमा, चार प्रतिशतमा स्वास्थ्य संस्थामा, तीन प्रतिशतले वित्तीय संस्था र तीन प्रतिशतले होटेल र बारमा, दुई प्रतिशतले खेलमैदानमा, पार्कमा आफू हिंसामा परेको बताए । ३२१ जनामा मात्रै गरिएको सर्वेक्षणले शिक्षा, स्वास्थ्य, खेलकुद, होटेल, यातायातमा महिलामाथि हिंसा भएको पाइए पनि समाजका अधिकांश क्षेत्रमा महिलामाथि कुनै न कुनै हिंसा भइनै रहेको अधिकारकर्मीहरूले बताएका छन् । किनभने स्वयं पीडित नै आफूमाथि हिंसा भइरहेको बारे खुल्न चाहँदैनन् । ओरेककै तथ्यांकले ३५ प्रतिशत हिंसा पीडितले हिंसा हुँदा पनि चुप लागेर बसेको बताए । १५ प्रतिशतले त आफूमाथि हिंसा हुँदा पनि बेवास्ता गरेको बताएका छन् ।

जम्मा १२ प्रतिशतले घटनास्थलमै प्रतिकार गरेको पाइएको छ । अझ हिंसा हुँदा प्रहरी वा सम्बन्धित निकायसम्म उजुरी गर्ने त जम्मा दुर्ई प्रतिशत मात्रै छन् । एक प्रतिशतले आफू द्विविधामा रहेको बताए भने हिंसा होला कि भनेर सावधान हुने त जम्मा एक प्रतिशत मात्रै भेटिए ।
आफूमाथि हिंसा हुँदा पनि पीडितहरू सहेर बस्नुमा घर, परिवार र समाजकै हात रहेको महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलको भनाइ छ । तथ्यांकले पनि त्यही देखाएको छ । जबकि महिलामाथि हिंसा भएको थाहा पाएर पनि ३४ प्रतिशत परिवारले पीडितलाई सहयोग नगरेको पाइएको छ । न्यायका लागि सहयोग गर्ने त १५ प्रतिशत मात्रै छन् । दुई प्रतिशतले त उल्टै जागिर छोड्न लगाएको, एक प्रतिशतले हिँड्डुल गर्न बन्देज गरेको पाइएको छ । ‘परिवारबाटै बन्देज गर्न खोजिन्छ’ महिला मानव अधिकार रक्षक लक्ष्मी आचार्यले भन्नुभयो, ‘हरेक हिंसाविरुद्ध आफैँ बोल्न सक्नुपर्छ । बोल्न सक्ने बनाउनुपर्छ । मनले चाहेर पनि बोल्न नसक्ने समस्याले महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न धौ भएको छ ।’

बोल्न नसक्नुमा सामाजिक र सांस्कृतिक कारण रहेको अध्ययनले देखाएको छ । हिंसा भएको थाहा पाएर पनि २५ प्रतिशतले सामाजिक वा सांस्कृतिक कारणले बोल्न नसकेको पाइएको छ । २१ प्रतिशतले पारिवारिक कारणले, १६ प्रतिशतले आर्थिक लाभका कारणले, १३ प्रतिशतले डर र त्रासका कारणले एक प्रतिशतले न्याय पाउनेप्रति विश्वास नभएका कारणले, नौ प्रतिशतलाई बोल्नुपर्छ भन्ने ज्ञान नभएका कारणले, तीन प्रतिशतलाई हिंसाविरुद्ध बोल्ने आँट नभएका कारणले र दुई प्रतिशतले त सामान्य हो भन्ने लागेका कारणले हिंसा सहनुपरेको बताए ।

हिंसामा कमी आएन : प्रहरी
दाङमा महिलामाथि हुने हिंसामा उल्लेख्य कमी नआएको प्रहरीकै तथ्यांकले पनि पुष्टि गरेको छ । पछिल्ला नौ वर्षको तथ्यांकले हिंसाको अवस्था उजागर गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा २५९ घटना महिला हिंसाका थिए । ०७२/७३ मा २५१, ०७३/०७४ मा त्यो संख्या बढेर २७२ पुग्यो । ०७४/७५ मा त ३२५ घटना भए । आव ०७५/७६ मा झन् बढेर ३६६ पुग्यो भने ०७६/७७ मा केही घटेर ३१० मा झरेको संख्या ०७७/७८ मा दोब्बर नजिक ५२० महिला हिंसाका घटना भएका छन् । त्यसपछि आव ०७८/७९ मा झरेर ३४५ मा पुगेको संख्या आव ०७९/८० को दुई महिनामा मात्रै ३७ महिला हिंसाका घटना भएका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?