चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु आज (सोमाबार) नेपाल आउँदै हुनुहुन्छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष झान्शुले आजदेखि नेपालको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।

उहाँ सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आउन लाग्नुभएको हो । अध्यक्ष झान्सुले यही भदौ २७ देखि ३० गतेसम्म नेपाल औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आज अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

सभामुख सापकोटा र अध्यक्ष लीले आजै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । आज साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ । नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी, सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुने छ भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष झान्सु यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताको नेपाल भ्रमण पछिल्ला केही वर्षमा बढ्दै गएको छ । यसैक्रममा पछिल्लो समय चीनको संसद्का रूपमा राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष झान्सु चारदिने औपचारिक भ्रमणका लागि सोमबार आउन लाग्नुभएको हो । उहाँको यो भ्रमणलाई नियमित र दुई देशको सम्बन्ध तथा सहकार्य विस्तारका लागि रहेको बताइए पनि यसको भित्री उद्देश्य नेपालमा चीनको भू–राजनीतिक चासो रहेको परराष्ट्रविद्हरू बताउँछन् ।

राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङपछि झान्सु तेस्रो स्थानमा हुनुहुन्छ चीनको राजकीय वरीयतामा । झान्सुभन्दा अघि गत असारमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ झियान्छाओ र गत चैतमा विदेशमन्त्री वाङ यी नेपाल आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?