ओझेलमा विकास र परिवर्तनका एजेण्डा

चुनावको मुखमा नेताहरूबीच ‘हिलो छ्यापाछ्याप’

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । ‘नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पोखरा पुगेर भन्नुभयो, ‘दोस्रोपटक फिर्ता गर्ने ठाउँ संविधानले कतै दिएको छैन । गर्नुभएन भने अदालतमा इस्यु जान्छ वा उहाँले राजीनामा दिने हो । मैले त भनेको छु दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने राजीनामा दिनुपर्छ ।’
नागरिकता विधेयकसँग जोडेर माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उल्टै प्रचण्डले राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । ‘नागरिकता विधेयक मैले चार वर्ष अगाडि संसद्मा पेश गरेको थिएँ, संसदीय समितिमा गएको विधेयक प्रचण्डले कार्यकर्तामार्फत रोकाएको रोकाइ गरे । तिनै प्रचण्ड राष्ट्रपतिले राजीनामा गर्नुपर्छ भन्छन् । प्रतिगामी तत्वले राजीनामा गर्नुपर्दैन ? वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेले राजीनामा गर्नुपर्दैन ?’

ओली प्रचण्ड सवाल-जवाफ नौलो त होइन । कुनै बेला ‘एउटै जहाजका दुई पाइलट’ (नेकपा अध्यक्षद्वय) बन्नुभएका उहाँहरू तल्ला स्तरमा गिरेरसमेत टीका-टिप्पणी गर्नुहुन्छ । तर, जब चुनाव नजिकिन्छ उहाँहरूको आरोप-प्रत्यारोपले उग्ररूप लिन्छ । गत स्थानीय चुनावमा पनि उनीहरू प्रतिगमन र अग्रगमन, जनादेश र परमादेशका विषयमा आरोप प्रत्यारोपमा उत्रिएका थिए । ओली प्रचण्ड मात्रै होइन अधिकांश नेताहरू बेलाबेलामा एक-अर्काविरुद्ध खरोरूपमा उत्रिन्छन् । अझ चुनावमा त झन् । गत स्थानीय चुनावको पूर्व-सन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता भीम रावल पनि तल्लो स्तरमा गिरेर आरोप-प्रत्यारोपमा उत्रिएका थिए । एमसिसीको विषयलाई लिएर भएको सवाल जवाफमा देउवा-रावलले एक-अर्कालाई ‘दिमाग खुस्केको र होस् हराएको’ आरोप लगाउनुभएको थियो ।

आरोप-प्रत्यारोपमा उत्रिने शीर्षस्थ नेता मात्रै होइन दोस्रो र तेस्रो तहका नेताको पनि उही चाल छ । अझै कार्यकर्ताहरू त बेलाबेलामा भिडन्त नै गर्छन् । यो क्रम चुनावमा अझ बढ्छ । मतदातासँग मत माग्ने क्रममा मुख्य राजनीतिक दलका नेताहरूले जनसमुदायमा पार्टीको एजेण्डा प्रस्तुत गर्नुभन्दा पनि विपक्ष दलका नेताहरूमाथि आरोप प्रत्यारोप र गालीगलौजमा नै समय खर्चिने गरेका छन् । आफ्नो पार्टीको घोषणापत्र र नीति लिएर जनसमुदायमा जानुपर्नेमा उनीहरू नैतिकता नै गुमाएर विपक्षी दलमाथि खनिने गरेका छन् । विकास र परिवर्तनको एजेण्डा लिएर जनतामा जानुपर्ने दलहरू एक-अर्कामा हिलो छ्यापाछ्याप गर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृतरूप त हुँदै हो यो निर्वाचन आचार संहिताविपरीतसमेत छ ।

प्रकाशमानलाई रवीन्द्र मिश्रको जवाफ- तपाईंले राजनीतिबाटै राजीनामा दिने कि ?
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र सवाल-जवाफमा उत्रिनुभएको छ । कांग्रेस नेता सिंहले पार्टी सञ्चालन गर्न नसकेको भन्दै व्यङ्ग्य गरेपछि नेता मिश्रले जवाफ फर्काउनुभएको हो । मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहप्रति लक्षित गर्दै १५ प्रश्न अघि सार्नुभएको छ । गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको स्मरण गर्दै मिश्रले तीनपटक सांसद हुँदासमेत केही गर्न नसकेको भन्दै राजनीतिबाटै राजीनामा दिन सिंहलाई चुनौती दिनुभएको छ । ‘गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ,’ मिश्रले नेता सिंहलाई प्रश्न गर्दै सोध्नुभएको छ, ‘तपाईंले त १५ वर्ष सांसद, मन्त्री, उपप्रधानमन्त्री, पार्टीको उपसभापति, महामन्त्री भएर खै केही गर्न सक्नुभएन । मौका पाएर कोही नबस्ने देश बनाउनुभयो । राष्ट्रपतिदेखि प्रधानमन्त्री, सर्वोच्च, प्रहरी, प्रशासन, अख्तियार, सबैलाई राजनीतिकृत, भ्रष्ट र अक्षम बनाइदिनुभयो । मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि ?’

मिश्रले देशको राजधानी काठमाडौंको १५ वर्षदेखिको सांसद हुँदा पनि शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुँवा नियन्त्रित, खुला क्षेत्र जगेर्ना गर्न कुनै भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ । ‘तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउन, आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ? सिंहलाई मिश्रले प्रश्न गर्नुभएको छ, ‘अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?’

सिंहले केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा मिश्रलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ दल खोल्नेहरूले दुई–तीन वर्ष पनि पार्टी टिकाउन नसकेको भन्दै नयाँ दल खोल्नु नाङ्लो पसल खोलेजस्तो सहज नहुने टिप्पणी गर्नुभएको थियो ।

सिंह र मिश्र गत प्रतिनिधिसभा चुनावमा काठमाडौं-१ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । सिंहले मिश्रलाई झिनो मतान्तरले पराजित गर्नुभएको थियो । यसपालि पनि मिश्रले काठमाडौं १ बाटै चुनाव लड्ने तयारी गर्नुभएको छ । यद्यपि, आधिकारिक घोषणा भने गरिसक्नु भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?