सात दशकको शासकीय यात्राको अन्त्य

हिमालय टाइम्स
Read Time = 9 mins

कुनै कालखण्डमा कहिल्यै पनि सूर्य नअस्ताउने देशका रूपमा परिचय बनाएको संयुक्त अधिराज्य बेलायतमा करिब सात दशकसम्म शासनभार सम्हाल्नु भएकी महारानी एलिजाबेथ द्वितीयाको पार्थिव अवशानको प्रसंग सेलाएको छैन । युरोपमा मात्रै नभएर सबै महादेशमा बेलायती महारानीको राजनीतिक परिपक्वता, योग्यता, समन्वयकारी भूमिका आदिको पर्याप्त चर्चा हुने गरेको छ । प्रजातन्त्रको जननी मानिने बेलायत दोस्रो विश्वयुद्धपछि शक्ति राष्ट्रका रूपमा रहन सकेको थिएन । सायद यति लामो समय राज्यको नेतृत्व गर्ने पहिलो व्यक्ति नै महारानी एलिजाबेथ हुनुहुन्छ । सत्तरी वर्षसम्म एकछत्र शासन गर्ने उहाँबाहेक संसारमा कोही पनि छैन । यो सत्तरी वर्षमा बेलायतको अवस्थालाई सही धारमा ल्याउन, दोस्रो विश्वयुद्धका समयमा भएको आर्थिक र भौतिक क्षतिबाट बेलायतलाई माथि उकास्न, प्राचीन सभ्यता बोकेको बेलायतको इतिहासलाई सुरक्षित राख्न महारानीको योगदान सदा स्मरणीय हुनसक्छ ।

बेलायतको वर्तमान राजपरम्परा सन् १६८८ बाट आरम्भ भएको थियो । त्यसअघि बेलायतले धेरै ठूलो आरोहअवरोहको सामना गरेको इतिहास छ । चर्च र जनताबीचको हिंसात्मक द्वन्द्व, राजा र चर्चको वर्चस्वका लागि भएको द्वन्द्व, जनता तथा राजाका बीचमा भएको हिंसात्मक द्वन्द्वदेखि साम्राज्य विस्तारका क्रममा भएका अनेक हिंसा र प्रतिहिंसाको विगत छ बेलायतको । त्यही दौरमा बेलायतले कृषिक्रान्ति, औद्योगिक क्रान्तिसँगै वैज्ञानिक आविष्कारको अद्भूत क्षमता विस्तार गर्‍यो । जेम्स् र चाल्र्स वंशको क्रूरतालाई अन्त्य गर्न भएको क्रूर हिंसा बेलायतको इतिहासमा अंकित छ ।

राजाहरूको र राजसंस्थाको अन्त्य गर्ने प्रयास ओलिभर क्रम्बेलको नेतृत्वमा भएको थियो । बेलायतको इतिहासमा सन् १९४६ देखि ०५७ सम्मको गणतन्त्र पहिलो र अन्तिम गणतान्त्रिक इतिहास भएको छ । यसको मुख्य कारण हो जनतासँग वाचा गरेर सत्तामा आएको राजपरिवारले कहिल्यै जनताका विरुद्ध जाने चाहना राखेन । भनिन्छ : संसद्ले आफ्नै मृत्युका लागि प्रस्ताव पास गरेर हस्ताक्षर गर्न पठाएमा बेलायतका राजाले आफ्नो त्यो मृत्युपत्रमा हस्ताक्षर गर्नै पर्दछ । कुनै किन्तु, परन्तु लाग्दैन । अर्थात् समग्रमा संसद् नै त्यहाँ निर्णायक हो । जनताका विपक्षमा नगएकै कारण बेलायतको राजसंस्था लोकप्रिय छ ।

तर, बेलायती लोकतन्त्रका मूल्यहरू आन्तरिक रूपमा सशक्त प्रयोगमा भए पनि अन्य राष्ट्रहरूका लागि भने त्यति प्रिय भएका छैनन् । युरोप र अमेरिकाको लोकतन्त्रले पहिले आफ्नै देशको र आफ्नै जनताको मात्रै स्वार्थको पक्षपोषण गरेको छ । स्वार्थविपरीत हुने स्थानमा त्यहाँका शासकहरू मौन रहन्छन् या त औपचारिकता मात्रै पूरा गरिरहेका हुन्छन् । तर, पनि नेपाल जस्ता अनेक विकासशील देशहरूलाई महारानी एलिजाबेथका समयमा भएको सहयोग प्रशंसनीय छ । यद्यपि, नेपाल– बेलायतका बीचको सम्बन्ध सन् १८१६ को युद्ध र सुगौली सन्धिको तिक्ततालाई जस्तो रूपमा लिए पनि त्यसपछिका दिनमा अत्यन्त सुखद् छ । खास गरी राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायतको यात्रा गरेको समयमा नेपालको ठूलो भूभाग फिर्ता गराएका थिए ।

जंगबहादुर राणको राजनीतिक विषयलाई पर राख्ने हो भने उनले नेपाल राष्ट्रका लागि गरेको योगदान अविस्मरणीय छ । नेपालले पनि बेलायतसँग गरेको गोर्खा भर्तीसम्बन्धी सन्धिका कारण अहिले पनि बेलायतको सुरक्षामा नेपालीहरूको अमूल्य योगदान यथावत् छ । बेलायतको मातहतमा रहेको तत्कालीन हङ्कङको विकास, सुरक्षा र समृद्धिमा नेपाली सुरक्षाकर्मीहरूको पसिना प्रशस्त बगेको छ । अर्जेन्टिनासँग फक्ल्याण्डमा भएको युद्धमा गोर्खाली सेनाले अत्यन्त बहादुरीका साथ बेलायतका पक्षमा लडेको इतिहासमा अंकित छ । बेलायतका हातमा फक्ल्याण्ड आउनु गोर्खाली सिपाहीकै देन हो । अहिले पनि धेरै नेपालीहरू बेलायतमा कार्यरत छन् । अध्ययनमा-अध्यापनमा संलग्न छन्, बेलायतको स्थायित्व र विकासमा योगदान दिइरहेका छन् । महारानी एलिजाबेथले नेपालको दुईपटक राजकीय भ्रमण गर्नुभएको थियो । नेपालका राजाहरूले समेत भ्रमण गर्नुभएको हुनाले दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध स्थापित छ ।

सत्तरी वर्षसम्म राष्ट्रको बागडोर सम्हाल्नु भएकी आमाको उत्तराधिकारी बनेर राजकुमार चाल्स अहिले बेलायतको राज सिंहासनमा बस्नुभएको छ । उहाँले सबैभन्दा पुरानो र दिगो राजसंस्थालाई जोगाउने र बेलायती जनताको हितका पक्षमा आमाको पद चिहृन कति पछ्याउन सक्नुहुनेछ समयले बताउने कुरा हो । अहिले नेपालमा राजसंस्था छैन । तर बेलायती मोडेलको संसदीय प्रजातन्त्र छ । जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउँदै जारी संविधानको अभ्यास भइरहे पनि अझै यसले स्थायित्व प्राप्त गर्न सकेको छैन । नेपालका सामु अनेक चुनौती यथावत् छन् । विपन्न नेपालीहरूको अवस्था, शिक्षा तथा स्वास्थ्यमा पहुँच नपुग्ने नेपालीहरूको अवस्था, शोषित र उत्पीडित जनताको ठूलो पंक्ति यथावत् छ ।

राजनीतिक परिवर्तनले यी सबै कुरालाई संबोधन गर्नैपर्ने हुन्छ । यसमा बेलायतको सहयोग आवश्यक छ । नेपालको परम्परागत सांस्कृतिक, धार्मिक पहिचानलाई सुरक्षित गर्दै नेपालीहरू प्रगतिमार्गको खोजिगरिरहेका छन् । त्यसमा बेलायतका नवराजाले सकारात्मक भएर सोच्नु हुने र तदनुरूप सम्बन्ध सबल गराउनु हुने विश्वास आमनेपालीहरूको रहेको छ । स्वयम् महाराज चाल्स नेपालको औपचारिक अनौपचारिक भ्रमणमा आइसक्नु भएको हुनाले नेपालको भूगोल र नेपाली मनको संवेदनालाई बुझ्नु हुनेछ भन्ने हाम्रो विश्वास छ । बेलायतमा बासोवास गर्ने नेपाली समुदाय र गोर्खा सैनिकका समस्याहरूका विषयमा नवमहाराजको ध्यान पुगेको देख्न नेपालीहरू चाहिरहेका छन् । यसबेला हिमालय टाइम्स परिवारका तर्फबाट महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक श्रद्धाञ्जलि प्रकट गर्दै बेलायतका नयाँ राजाको कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिन चाहन्छौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?