निर्वाचनको चटारोमा नेताहरु : मतदाता रिझाउन घरदैलोमा

Read Time = 7 mins

-विवेक खड्का
दाङ । मंसिर ४ को निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस भएसँगै मुख्य दलका नेता जिल्ला केन्द्रित हुन थालेका छन् । अधिकांश समय संघीय राजधानीमा बस्ने नेता निर्वाचनको मिति घोषणासँगै मतदाता रिझाउन जिल्ला पसेका हुन् ।  जिल्ला पसेका नेताकार्यकर्ता रिझाउनका लागि विभिन्न कार्यक्रममा सहभागी हुने र टिकट ल्याउनका लागि दबाब सिर्जन गर्न राजधानी धाउने गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी केही दिन अघिसम्म जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर राजधानी जानुभएको छ । गिरी दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको टिकटका लागि लविङमा हुनुहुन्छ । गिरीसँगै नेपाली कांग्रेसले ६ जना नेताहरूको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

यसैगरी नेपाली कांग्रेसका केन्द्री सदस्य द्वोय कृष्णकिशोर घिमिरे र योगेन्द्र चौधरी जिल्लामै कार्यक्रममा व्यस्त हुनुहुन्छ । दुवै नेताहरू प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य गेहन्द्र गिरी पनि जिल्लाका कार्यक्रममा हुनुहुन्छ । गिरी २०७९ साल बैशाख ३० मा भएको स्थानीय तहको चुनावमा तुलसीपुरको मेयरमा पराजित हुनुभएको थियो । कांग्रेसले गिरीलाई यो पटक प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका नेता तथा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी पनि पछिल्लो समय जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ । शनिवार उहाँ जिल्लाका दुईवटा कार्यक्रममा सहभागी हुनुभएको थियो । आइतवार मन्त्री चौधरीले जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्ला सभालाई सम्बोधन गर्नुभयो । मन्त्री चौधरी क्षेत्र नं. ३ (क)बाट प्रदेशसभाको प्रत्यक्षमा सिफारिस हुनुभएको छ । कांग्रेसका प्रदेश उपसभापति राजु खनालसँगै जिल्लाबाट सिफारिस भएका कांग्रेसका नेताहरू जिल्लाका कार्यक्रमहरूमा व्यस्त हुनुहुन्छ ।

एमाले महासचिव शंकर पोख्रेल शनिवार राती नै जिल्ला आउनुभएको छ । दुई दिनसम्म जिल्लामा बस्ने महासचिव पोख्रेलले विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पोख्रेल दाङ क्षेत्र नं. २ बाट एकल सिफारिस हुनुभएको छ । उहाँ२०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा निर्वाचित हुनुभएको छ ।

प्रदेशमा निर्वाचित भएका पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत हुनुभउको थियो । यसैगरी नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू गंगा चौधरी, घनश्याम पाण्डेय, कोमल वली र अनुशासन आयोगका केन्द्रीय सदस्य रेवतीरमण शर्मा पनि जिल्लाका विभिन्न चुनावी कार्यक्रमहरूमा सहभागी हुने गर्नुभएको छ । चौधरी द्वोयसँगै शर्मा क्षेत्र नं. १ बाट र पाण्डेय र वली क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि सिफारिस हुनुभएको छ । चौधरी द्वोय प्रतिनिधिसभा सदस्य हुन् भने शर्मा प्रदेशसभा सदस्य हुनुहुन्छ । वली निवर्तमान राष्ट्रियसभा सदस्य हुनुहुन्छ भने पाण्डेय तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगर प्रमुख हनुहुन्छ ।

क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको प्रत्यक्षका लागि एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीलाई पनि एमालेले सिफारिस गरेको छ । साउनको अन्तिममा एमाले दाङले गरेको जिल्ला स्तरीय प्रशिक्षणमा सहभागी भएर राजधानी जानुभएका उपाध्यक्ष ज्ञवाली त्यसपछि भने जिल्लामा आउनुभएको छैन । यसैगरी एमालेबाट प्रदेशसभामा सिफारिस भएका नेताहरू पनि चुनावी कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् सभामुख कृष्णबहादुर महरा पनि जिल्लाका विभिन्न निर्वाचन केन्द्रित कार्यक्रमहरूमा व्यस्त हुनुहुन्छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीका नेताहरू पनि चुनावी कार्यक्रममा व्यस्त छन् । पार्टीका पोलिटव्यूरो सदस्य तथा सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी र केन्द्रीय सचिव भागवत विश्वासी समेत जिल्लामा विभिन्न चुनावी कार्यक्रम गर्दै आएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?