सिट बाँडफाँटमा कहाँ अल्झियो सत्ता गठबन्धन ?

१०० सिटभन्दा तल नझर्ने कांग्रेसकाे दाबी

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा अल्मलिएको छ ।
दिनहुँजसो बैठक बसेपनि सिट बाँडफाँटमा कुरा नमिल्दा बैठकले सार्थकता पाउन सकेको छैन ।

दलहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि सिट बाँडफाँटको लागि निरन्तर हुँदै आएको छलफल आइतबार पनि निष्कर्षविहीन भयो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब चार घण्टा चलेको बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भए पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बसिरहेको छ ।

जारी बैठक सिट बाँडफाँटमा केन्द्रित रहेको स्रोतले बतायो । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँँडफाँट गर्न जुटेपनि शीर्ष नेतामै देखिएको आ–आफ्ना अडानका कारण समस्या उत्पन्न भएको छ । कुन दलले कति सिट लिने भन्नेमा नै सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको गाँठो फुक्न कठिन भएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आइतबार सिट बाँडफाँटबारे दिनहुँ छलफल भइरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति  देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष  नेपाल, जसपा अध्यक्ष यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी हुनुहुन्छ ।

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनका नेताहरूबीच केही दिनदेखि लगातार छलफल भइरहेको छ । गएको शनिबारकै छलफललाई नेताहरूले निर्णायकसमेत भनेका थिए । तर, आइतबार सहमति जुटाउने भन्दै शनिबार बैठकबाट निस्किएका नेताहरू हिजो बिहान भएको छलफलमा पनि सहमति जुटाउन सफल भएनन् ।

सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको बैठकमा सहभागी नेताहरुले बताउँदै आएका छन् । अझै पनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आइतबार सहमति हुन सकेन । सोमबार फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रूप दिने कुरा भएको छ ।’

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो । गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाए पनि बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । त्यसयता विवाद रहेका विषयमा शीर्ष नेताहरू सहमति गर्न छलफलमा जुटेका छन् ।

कार्यदलका सदस्यसमेत रहनुभएका जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादवले बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा सोमबार फेरि छलफल गर्ने गरी बैठक टुंग्याइएको जानकारी दिनुभयो । नेता यादवका अनुसार मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा नै कुरा मिल्न सकेको छैन ।

सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण कुरा मिलाउन गाह्रो भइरहेको दाबी कार्यदलमा रहेका माओवादी केन्द्रका एक नेताको दाबी छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीले एमालेले जितेका सबै सिटमा दाबी गरेजस्तै जसपाले पनि तत्कालीन राजपा (अहिलेको लोसपा) ले जितेको ठाउँमा दाबी गरिरहेको छ । दुई दलको दाबीका कारण पनि सिट बाँडफाँट टुंगोमा पुग्न नसकेको कार्यदलमै रहेका नेताहरूको जिकिर छ ।

जनता समाजवादीका नेता रामसहायप्रसाद यादवका अनुसार नेपाली कांग्रेसले १०० सिटभन्दा तल नझर्ने दाबी छाडेको छैन । कांग्रेस १०० सिटभन्दा तल झरेमा अन्य दल पनि आ–आफ्नो अडान छाडेर सहमतिको बिन्दुमा आउन सक्ने सम्भावना देखिएको राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यदलका सदस्य हिमलाल पुरीको पनि भनाइ छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले १०० भन्दा तल झर्न सकारात्मक रहेको संकेत यसअघि नै दिइसक्नुभएको भनिएपनि सहमति हुन सकेकाे छैन ।

कांग्रेसले ८०, माओवादी केन्द्रले ४०, नेकपा एकीकृत समाजवादी र जसपाले २२/२२ र राष्ट्रिय जनमोर्चाले एक सिटमा सहमति जनाउन सक्ने नेताहरूको भनाइ छ । कार्यदलका सदस्य पुरीका अनुसार हालसम्म कुनै पनि दल आफ्नो अडानबाट पछाडि नहटे पनि अनौपचारिक छलफलमा सहमतिका लागि यसरी सिट बाँडफाँट गरेमा मिल्ने सम्भावना देखिएको छ ।

गठबन्धनमा अझै सबैभन्दा बढी समस्या प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा देखिएको छ । मधेश प्रदेशमा जनता समाजवादीले सबैभन्दा बढी सिटमा अडान राखेको छ । बागमती प्रदेशमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच कुरा मिल्न बाँकी छ । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रको बीचमा अझै बढी विवाद देखिएको छ ।

समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने तालिका छ । प्रत्यक्ष सिटमा बाँडफाँट नभएसम्म समानुपातिकमा कसको नाम पठाउने वा नपठाउने भन्ने अन्योल हुने भएकाले गठबन्धनलाई सिट बाँडफाँटको विषयले दिनप्रतिदिन थिच्दै गएको छ । निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवार मनोनयन दर्ताको समय असोज २३ गते तोकेको छ ।

नेपाली कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्य दललाई टिकट दिए पार्टीमा विद्रोह हुने चेतावनी दिनुभएको छ ।
पार्टीले गठबन्धनमा चुनाव लडेर बहुमतको सरकार बनाउने निर्णयलाई कसैले पनि लत्याउन नमिल्ने बताउँदै कोइरालाले बहुमतसहितको सरकार बनाउन ७०–८० सिट लिएर नहुने जिकिर गर्नुभएको छ ।

कांग्रेसलाई युवाको पार्टी बनाउन अवसरवादीहरूलाई यो निर्वाचनबाट पाखा लगाउन आग्रह गर्दै नेता कोइरालाले पार्टी र विचार नबुझेका अवसरवादीहरूले पैसाको बलमा अहिले सबै पार्टीमा हालिमुहाली जमाएको टिप्पणी गर्दै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?