पशु अस्पताल बनाउँदै बैजनाथ गाउँपालिका

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको बैजनाथ गाउँपालिकामा पशु अस्पताल बन्ने भएको छ । बाँके जिल्लामै पहिलोपटक बैजनाथमा पशु अस्पताल बन्ने भएको हो । अस्पतालको एक कार्यक्रमका बीच शिलान्यास समेत गरिएको छ । पशु अस्पताल भवनको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले शिलान्यास गर्नु भएको थियो ।

‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ कार्यान्वयन गर्न अन्र्तगत पशु अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष शाहीले बताउनुभयो । अस्पताल निर्माणका लागि गाउँपालिकाको ११औं गाउँसभाबाट चालू आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत उक्त कार्यक्रम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । अध्यक्ष शाहीले तोकिएको समयभित्र भवन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

‘समयमै भवन बनेपछि यहाँबाट सेवा प्रवाह गर्न समेत सहज हुन्छ’ उहाँले भन्नुभयो, ‘तोकिएको समयमा यो भवन निर्माण हुनुपर्छ ।’ पशु अस्पताल भवन निर्माण भएलगत्तै गाउँपालिकाले सेवा सञ्चालनमा ल्याउनेछ ।

गाउँपालिका उपाध्यक्ष रोकायले पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन किसानहरुलाई सहज हुने बताउनुभयो । ‘बैजनाथ पशुपालनमा राम्रो सम्भावना बोकेको स्थान हो । निर्धारित समयमै अस्पताल सञ्चालनमा आएपछि यहाँका किसानलाई पक्कैपनि सजिलो हुन्छ ।’ उहाँले भन्नुभयो ।

कुल ४८ लाख ४६ हजार रुपैयाँको लागतमा पशु अस्पताल भवन निर्माण गर्न लागिएको बैजनाथ गाउँपालिकाले जनाएको छ । बाँकेका आठ वटा पालिकामध्ये बैजनाथमा पहिलोपटक पशुलाई ध्यानमा राखेर पशु अस्पताल निर्माण हुन लागेको हो । पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालन गर्दै आएका किसानहरुलाई एकै स्थानबाट सबै सेवाहरु लिन सजिलो हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?