नवौं राष्ट्रिय खेलकुद : गण्डकीले सबै खेलमा भाग लिने

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ३६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सबै खेल विधामा गरी गण्डकीबाट ७१६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार छनोटमा परेका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको छ ।

‘बन्द प्रशिक्षणका लागि बजेट प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘खेलाडीले व्यक्तिगतरूपमा पनि अभ्यास थालिसकेका छन् ।’ पोखराबाहिर हुने खेलका लागि सम्बन्धित जिल्लामै बन्द प्रशिक्षणमा राखिने उहाँले बताउनुभयो ।

मन्त्रालयबाट बजेटको सुनिश्चितता हुनासाथ बन्द प्रशिक्षण र प्रतियोगिताको अरू तयारीले तीव्रता पाउने सदस्य-सचिव गुरुङले उल्लेख गर्नुभयो । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ ।

राष्ट्रिय प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्य–सचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएनए)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ ।

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारोत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै, हृयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराँते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ ।
प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव ड. दामोदर रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पु¥याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ ।

प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरू जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायक मण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउनुहुन्छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुवातका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मी बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?