व्यापारले गति नलिँदा धनगढीका व्यवसायी चिन्तित

हिमालय टाइम्स
Read Time = 4 mins

मोहन जोशी/हिटा
धनगढी । कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी केही कम भएको छ । तर, चाडवाडको मुखमासमेत अपेक्षित रूपमा व्यवसाय फस्टाउन नसक्दा धनगढीका व्यापारी भने निराश बनेका छन् । ‘हिन्दुहरूका ठूला चाड नजिकिँदा व्यवसाय सुधार हुने अपेक्षा गरेका थियौ’ न्यु स्टार फुटवेयरका सञ्चालक जगदीशदत्त जोशीले भन्नुभयो, ‘तर अहिले पनि बजार सुनसान छ, व्यापारले गति नलग्दा व्यापार घाटा बढेको बढ्यै छ ।’

कोरोनाका कारण धेरैको रोजगारी गमेका कारण व्यापार मन्दी भएको जोशी बताउनुहुन्छ । ‘कोरोनाले धेरैको रोजगारी गुम्दा आर्थिक समस्यामा परे’ धनगढी होलसेल व्यवसायी संघका सदस्यसमेत रहनुभएका जोशीले भन्नुभयो, ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मानिसलाई खाद्यान्नको जोहो गर्न मुस्किल भएको छ, यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।’

कोरोना संक्रमणको समयमा समेत राम्रो व्यापार भएको बताउँदै सुनचाँदी व्यवसायी संघ कैलालीका कोषाध्यक्ष प्रेम सेञ्चुरीले भन्नुभयो, ‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, तीजमा व्यापार बढ्ने अपेक्षा गरेका सबै व्यवसायी निराश हुनुपरेको छ ।’ कोरोना संक्रमण सुरु हुनुअघि तीजको समयमा दैनिक तीन/चार तोला सुन व्यापार हुने गरेको उहाँको स्मरण छ । तर, यसपटकको तीजमा दैनिक एक÷डेढ तोला सुन पनि नबिकेकोे उहाँले बताउनुभयो ।

‘बैंकले ऋण दिएको छैन,’ सेञ्चुरी भन्नुहुन्छ, ‘महंगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन ।’

कोरोना संक्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका व्यवसायी नारायण पन्थीले हालसम्म नयाँ सामान ल्याउन नसकेको बताउनुभयो । ‘व्यापार पहिलाभन्दा पनि खस्केको छ’ पन्थीले भन्नुभयो, ‘नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाऊँ ऋण पाइँदैन ।’ व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामानसमेत बेच्न नसकेको उहाँले बताउनुभयो ।

‘गत वर्ष ल्याएका लत्तापकडा अहिले पनि बेचिरहेको छु’ उहाँले भन्नुभयो, चिसोमा लगाउने लुगा पनि गत वर्षकै थन्किएका छन् ।’ किराना व्यवसायीलाई केही सहज भए पनि अन्य व्यवसायी अहिले पनि समस्यामा रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउनुहुन्छ । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो भएको छैन’ अध्यक्ष कुँवरले भन्नुभयो, ‘अन्य क्षेत्रको व्यापार निराशाजनक छ ।’

सरकारले बैंकको ब्याज घटाउनुपर्ने अध्यक्ष कुँवरको सुझाव छ । बैंकको ब्याजदर चर्को हुँदा धेरै व्यवसायी अहिले ब्याज तिर्नसमेत नसक्ने अवस्थामा रहेको उहाँ बताउनुहुन्छ । ‘बजारसम्म पैसा ल्याउन सरकारले तत्काल बैकलाई ऋण लगानी गर्नु दिनुपर्छ,’ अध्यक्ष कुँवरले भन्नुभयो, सरकारको आफ्नो खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ ।’ नेपालको अर्थतन्त्र परनिर्भरमुखी हुँदा पनि यस्तो समस्या भएको अध्यक्ष कुँवर बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?