अहिलेको नागरिकता विधेयक गलत छ, फिर्ता गरेर अर्काे ल्याउनुपर्छ : ओली

हिमालय टाइम्स
Read Time = 6 mins

पुरन साह/हिटा
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नागरिकता विधेयक सरकारले फिर्ता गरेर अर्को विधेयक ल्याउन माग गर्नुभएको छ । जनकपुरधाममा सोमबार आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्बाट पास भएको विधेयक काम नलाग्ने रहेको भन्दै जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्ने प्रावधानसहित दुई/चार लाइन लेखेर अर्को विधेयक ल्याउन माग गर्नुभयो । सो विधेयक संसद्बाट तुरुन्त पास गराउने जिम्मा आफूले लिने ओलीले बताउनुभयो । वर्तमान गठबन्धनको सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता नदिने उद्देश्यले विधेयकमाथि संसद्मा छलफल नगरेको उहाँको आरोप छ ।

अहिले सदनबाट पारित भएको नागरिकता विधेयकमा गलत बुँदाहरू उल्लेख गरिएको ओलीले आरोप लगाउनुभयो । ‘प्रमुख दलहरूसँग सल्लाह गर्दैन, राष्ट्रपतिसँग विचार विमर्श गर्दैन । संसद्मा जवाफ दिँदैन । बाहिर संविधान नमान्ने अनाडीले बसेर राष्ट्रपतिले भनेको कुरा नमान्ने । त्यसैले हामीले गठबन्धनको बहुमत छँदैछ भनेर त्यसलाई अस्वीकार गर्यौं,’ ओलीले भन्नुभयो, ‘नागरिकताको समस्या गम्भीर समस्या हो । कमसेकम अहिले जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्छ । यति कुरा पास गराऔँ न । सरकारले यो प्रस्ताव संसद्मा लगोस् तुरुन्त पास गराउने जिम्मा मेरो । प्रतिपक्षले तुरुन्त भोट हाल्छ, ताली बजाउँछ, हात उठाएर स्वागत गर्छ । म सात दिनदेखि कराएको कराई छु । यिनीहरूलाई नागरिकताको प्रमाणपत्र दिलाउनु छैन । तर, एमालेले नागरिकताको प्रमाणपत्र दिन दिएन भनेर झुटको खेती गर्नुछ, यिनीहरू जनता अल्मलाएर भोटको राजनीति गर्दैछन् ।’

नागरिकताको सन्दर्भमा एमाले जति कसैले लडाइँ नलडेको उहाँको दाबी छ । ‘२०५१ सालमा म गृहमन्त्री भएको बेला नागरिकता आयो, कराएर साँच्चै नागरिकताको समस्या के हो भनेर समाधान गर्न खोजँे । समाधान गर्न खोज्दा सरकार नै ढालियो,’ एमाले अध्यक्ष ओलीले थप्नुभयो, ‘अहिलेकै गठबन्धनकै साठगाँठमा म प्रधानमन्त्री हुँदा सरकारले ल्याएको नागरिकता विधेयक समितिमा चार वर्षदेखि रोकेकै रोक्यै भयो । तीन वर्ष समितिमा राख्यो । संसद्मा रोकेपछि संविधानबमोजिम जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्छ भनेर अध्यादेशबाट ऐन ल्याएर । यही गठबन्धनकै मानिसका इशारामा मुद्दा हालेर अध्यादेश रोकाइयो ।’

सम्बोधनको क्रममा उहाँले कालो झण्डा देखाउन खोज्दा पक्राउ परेका युवाहरूलाई पनि रिहा गर्न प्रहरीसँग आग्रह गर्नुभयो । ‘ती युवाहरू कसैले उक्साएर, गलत सूचना दिएर एमालेका कारण विधेयक रोकियो भनेर कालोझण्डा देखाउन पठाएका हुनसक्छ । भुलबस, भ्रमवश कालोझण्डा देखाउन आएको हुनसक्छ । गल्ती नगर्नेलाई हामी केही गर्दैनौँ । उनीहरू पक्राउ परेका छन् । प्रहरीलाई तत्काल रिहा गर्न भन्छु । यही सभामा ल्याउन आग्रह गर्छु,’ उहाँले भन्नुभएको थियो ।

‘एमालेले कसैसँग पनि गठबन्धन गर्दैन’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमाले कुनै पनि अन्य राजनीतिक दलसँग गठबन्धन नगरि एक्लै चुनाव लड्ने बताउनुभयो । जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन सिद्धान्तहीन, नैतिकहीन, योजनाविहीन र कामै नलाग्ने विषय भएको हुनाले एमाले यस्तो कार्यमा संलग्न नहुने बताउनुभयो । निर्वाचनको बेला थुप्रै राजनीतिक दलहरूलाई रेसक्यु पनि गर्नुपर्ने हुन्छ त्यसैले चुनावी तालमेल, छलफल हुनसक्छ तर, गठबन्धन भने हुँदैन’ एमाले अध्यक्ष ओलीले भन्नुभयो, एमालेबाट तर्सिएका दलहरूलाई त गठबन्धन गर्नु नै पर्‍यो उहाँहरू एक्लै एमालेसँग भिड्ने कल्पना नगरे हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?