विजय रावत/हिटा
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गौतमबाडाका आगलागीपीडित कालिबहादुर खत्री र जितबहादुर खत्रीको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आइतबार खाना पकाउने ग्याँस लिक भएर १८ कोठे घर जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो । पीडित कालीबहादुर खत्रीका अनुसार घरमा भएको नगद १३ लाखसहित पाँच तोला सुन, लत्ताकपडा, अन्नपात, भाँडाकुँडा सबै जलेर खरानी भएको छ । अर्का पीडित जितबहादुर खत्रीका अनुसार नगद ६ लाखसहित घरको अन्नपात, लत्ताकपडा सबै नष्ट भएको छ ।
एउटै घरमा छुट्टिएर बसेका जितबहादुर र कालीबहादुरको नौजनाको परिवार अहिले विचल्लीमा परेका छन् । आगलागीले दुवैजनाको गरी झण्डै ६० लाखभन्दा बढीको क्षति भएको जितबहादुर खत्रीले जानकारी दिनुभयो । रातभरि ग्याँस लिक भएको र आइतबार बिहान खाना पकाउने क्रममा सिधै आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीपीडित जितबहादुर खत्री र कालीबहादुर खत्रीलाई तत्कालीन आश्रयका लागि राहत उपलब्ध गराइएको छ । साँझका लागि एक गाँस खाने र ओड्ने ओछ्याउने नभएपछि तत्कालका लागि ७० हजार बराबरको लत्ताकपडा भाँडाकँुडासहितको खाद्यान्न राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पालिकाले तत्काल पीडितको घाउमा मलम लगाएको हो । घर निर्माणका लागि पनि संघ र प्रदेशमा पहल गर्नेछ । नियमअनुसार साढे चार लाख संघ प्रदेशले दिने र पालिकाले ५० हजार घर निर्माणका लागि दिन मिल्छ । त्यसको पहल गर्छौं ।’ राहतमा दुई घरका लागि चार बोरा चामल, १० किलो दाल, चार लिटर तेल, दुई थान कुकर, दुई थान डेक्ची कराई, दुई थान पाल, आठ थान कम्बल, १२/१२ थाल गिलास, दुईवटा बाकस, चार/चार वटा डस्ना र कम्बललगायत करिब ७० हजारको तत्कालीन राहत दिइएको छ । पालिका अध्यक्ष चौलागाईंसहित ६ नम्बर वडाध्यक्ष विशाल खड्काको उपस्थितिमा पीडितलाई राहत उपलब्ध गराएको तातोपानी गाउँपालिकाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका