इन्द्रजात्रा : इज्जतका साथ गरिएको इन्द्रको बेइज्जत

Read Time = 11 mins

✍️ डा. उद्धव पुरी
काठमाडौं उपत्यकामा प्रचलनमा रहेका विभिन्न जात्रा र मेलाहरूमध्ये लगभग आठ दिनभन्दा बढी लामो समयसम्म चलन चल्तीमा रहेका जात्रामा इन्द्रजात्रालाई पनि मानिन्छ । यसको प्रचलन र त्यससँग जोडिएका विभिन्न नाच र सहायक जात्रा विभिन्न कालखण्डमा विभिन्न व्यक्ति, कारण र चाहनाले थपिँदै आएको देखिन्छ । वास्तवमा इन्द्रजात्रा कहिले र कसरी सुरु भयो भन्ने सम्बन्धमा सहज रूपमा किटान गर्न सकिँदैन । वैदिक कालदेखि कलियुगसम्मका कुराहरू यसमा जोडिन आउँछन् । इन्द्रसँग सम्बन्धित भएर धेरै घटनाक्रम प्रचलनमा रहेको देखिन्छ । समग्रमा यो इन्द्रजात्राको प्रचलन सनातनी रहेका सबै क्षेत्र नेपाल र विदेशमा समेत मान्ने र मनाउने गरिन्छ ।

सामान्यतया स्वरूपमा केही भिन्नता भने देखिन्छ । बौद्धहरू पनि स्वर्गका पनि राजा भनेर मानिएका इन्द्रलाई धार्मिक संघसंस्थाहरूका रक्षकका रूपमा मान्दछन् । तर नेपालको काठमाडौं उपत्यकाको शहर र त्यसको पश्चिमतर्फ रहेको इन्द्रस्थान वा इन्द्रथान वा दहचोकमा रहेको इन्द्रदहमा हुने जात्रा र मेलाका सम्बन्धमा प्रचलनमा रहेको विभिन्न कथामध्ये केही आजभोलिका लागि सान्दर्भिक लोककथा पनि छन् । जसलाई अन्यथा नमानी स्वीकार्ने हो भने इन्द्रको इज्जतका साथ बेइज्जत गरेको दिन हो इन्द्रजात्रा । यहाँ राजा र प्रजाको कुरा जोडिएको छ वा भनौँ शासक, शासनको शैली र त्यसको गुणस्तरसँग गासिएको छ यो इन्द्रजात्रा ।

यो लोककथन हो । सनातनी पुराणहरूमा देवता र दानवहरू मिलेर समुद्र मन्थन गरेका कथा प्रसंग पाइन्छन् । जसबेला मन्थनबाट अनेक मणिरत्न, अमृतलगायत निस्के । जसमा देवता र दानवहरूको आँखा लाग्यो । उनीहरूले लुछाचुँडी पनि गरे तर सबैले खस्रो पात भएको एउटा बिरुवालाई भने छोडे । उनीहरूले त्यसको कुनै अर्थ देखेनन् तर काठमाडौं उपत्यकाको एक तान्त्रिकले त्यो बिरुवालाई मत्र्यलोकको काठमाडौंमा रहेको आफ्नो बगैँचामा ल्याएर रोपे । जसलाई मलजल गरी हुर्काएपछि सुन्तला रंगको भेट्नो भएको सानो आकारको सेतो सुगन्धित फूल फुल्यो ।

उपत्यकामा विगतदेखि नै खेतीपाती गर्ने समुदायलाई ज्यापू भन्ने गरिए अनुसार उनलाई पनि ज्यापू भन्ने गरिएको पाइन्छ भने उक्त वृक्षलाई चाहिँ पारिजातको रूख भन्ने गरिन्छ । कुनै पनि लोकमा नभएको उक्त फूल फुलेपछि ज्यापूले त्यो फूल राजालाई प्रत्येक दिन चढाउन लान थाले । जुन कुरा स्वर्गमा इन्द्रले पनि चाल पाए । इन्द्रले आफ्नो बगैँचा नन्दन वनमा पनि उक्त रूख सार्न चाहे र इन्द्र कहिले फूल चोर्न त कहिले हागा चोर्न आउन थाले र उनी मन्त्रद्वारा समातिए ।
यस्तै अर्को लोककथा अनुसार इन्द्रकी आमा वसुन्धरा व्रत बस्न पारिजातको फूल चाहिन् ।

एक कथनअनुसार इन्द्रकी आमाले आफ्नो छोरा इन्द्र समातिएको थाहा पाएपछि आफैँ मत्र्यलोकमा आएर छोरालाई छुटाउने प्रयास गरिन् । उपत्यकामा बालीनालीका लागि पानी चाहिने अवस्था थियो । स्थानीय किसानहरूको चाहना अनुसार उनले कुहिरो र शीत पारिदिइन् ।

स्वर्गमा नपाइने र मत्र्यलोकमा मात्र पाइने पारिजातको फूल लिन इन्द्र आफैँ मनुष्यको रूप धारण गरी मत्र्यलोकामा आउन बाध्य भए । त्यस समयमा मत्र्यलोकमा ख्यातिवाल तान्त्रिकहरू हुन्थे । जसका धेरै प्रमाणित कथा र प्रसंग छन् । पारिजातको फूलको रूख भएको बगैँचाका ज्यापू पनि ठूला तान्त्रिक थिए । उनले आफ्नो बगैँचामा जो कोही आएर चोर्न नसकून् भनी बगैँचालाई मन्त्रले बाधिराखेका थिए । अर्थात् कोही बगैँचामा पसेर केही चोर्न लाग्यो भने ऊ अर्थात् चोर त्यही रूखमा टासिन्थ्यो । पारिजातको फूल चोर्न लागेका मनुष्यरूपी इन्द्र पनि पारिजातको फूलको रूखमा टाँसिए ।

यी दुवै घटनासँग जोडिएका कथनहरू अनुसार इन्द्र कारबाहीमा परे । एक कथनअनुसार इन्द्रकी आमाले छोरा समातिएको थाहा पाएपछि आफैँ मत्र्यलोकमा आएर छोरालाई छुटाउने प्रयास गरिन् । उपत्यकामा वर्षात् सकिएर पानी पर्न छाडेको अवस्था हुने भएको र बालीनालीका लागि हल्का पानी चाहिने अवस्था थियो । स्थानीय किसानहरूको चाहनानुसार उनले कुहिरो र शीत पारिदिइन् । छोरा छुटाउने यो प्रयत्नका क्रममा उपत्यकावासीले इन्द्र र इन्द्रकी आमाको पहिचान गरे । उपत्यकावासीका अर्को चाहना बढ्यो कि अब यिनकै पछि लागेर स्वर्ग गएर आफ्ना दिवंगत आफन्तहरूलाई भेट्ने तर त्यो सम्भवको कुरा थिएन ।

उनीहरू दहचोक वा इन्द्रस्थानमा पुगेर जाने क्रममा सबै भुइँमा नै खसे । चतुर्दशीको उक्त दिन अहिले पनि भुइँबत्ती बाल्ने र खोज्ने चलन छ भने इन्द्र र उनकी आमा स्वर्ग जाँदा नुहाएको पोखरी इन्द्रथानको इन्द्र दहमा नुहाउने चलन छ । जुन दिन इन्द्र पनि स्वर्गबाट त्यहाँ नुहाउन आउँछन् भन्ने विश्वास छ । उपत्यकाको शहरमा इन्द्रजात्रा मनाएपछि त्यसैदिन राति इन्द्रदहमा पुगेर रातभर जाग्रम बसेर भोलिपल्ट बिहान पोखरीमा नुहाउने चलन छ ।

यता इन्द्रजात्रा भने न्याय सम्पादनसँग पनि जोडिन जान्छ । बगैँचामा चोरका रूपमा समातिएका इन्द्रलाई ज्यापूले पाता कसेर कारबाहीका लागि राजाको दरबारमा लैजान्छन् । धार्मिक परम्परा र विधिअनुसार दण्ड सजाए तोक्ने काम राजा वा शासकको हो । राजा गद्दीमा बसेर कारबाही सुरु गर्न थाले । समातिएको चोर हेर्न धेरै भादारहरू जम्मा भएका थिए । पाता फर्काइएका मानवरूपी इन्द्रलाई देख्ने बित्तिकै राजाले स्वर्गका राजा इन्द्र भन्ने चिने । उनलाई संकट आइलाग्यो । भगवानलाई कसरी कारबाही गर्ने । यता भारदार र जनतालाई पनि देखाउनु छ कि चोरलाई कारबाही हुनुपर्छ र हुन्छ ।

राजा इन्साफी थिए । उनले स्वर्गका राजा इन्द्रलाई प्रणाम गरे र मानवरूपी चोर इन्द्रलाई जात्रा गरी शहर धुमाएर ल्याउने उर्दी दिए । त्यसपछि राजाले इन्द्रलाई भने कि महाराज इन्द्र मैलै मेरो राजकाज र न्याय निसाफ अनुसारको काम गरेँ, यो मेरो दैनिकी हो, प्रजाको हित र देशमा सुशासन मेरो लक्ष हो । जुन सद्भावपूर्ण भए पनि इन्द्रलाई चोर सावित गरी शहर धुमाएर बेइज्जत गरिएको थियो । राजाले इन्द्रलाई बहुत कूटनीतिक तरिकाले स्वर्गका भगवानलाई मत्र्यलोकमा दर्शन गर्न पाउनु हाम्रो सौभाग्य भन्दै यस्तो जात्रा हरेक वर्ष धुमधानसँग गर्न पाऊ भने ।

राजाको राजकाज र जनताको प्रसन्नता आदि सबै कुरालाई स्वीकारेर इन्द्रले अनुमति दिए । त्यसपछि हरेक वर्ष जात्राका लागि इन्द्र मत्र्यलोकमा आउन थाले । मानिसहरूले इन्द्र र इन्द्रसँग आएका देवी देवताहरूको सौन्दर्य र वैभव देखेर डाह र लोभ गरेकोले अब आफूहरू नआउने तर जात्रा चलाउन भने छुट दिए । इन्द्रजात्रा शरद् ऋतुमा भाद्र शुक्लपक्ष द्वादशीको दिन सुरु भएर कृष्ण चौथीको दिन समाप्त हुन्छ । उपत्यकामा बढी धुमधामसँग मनाइने यस जात्रा परम्पारा अहिले पनि चलिरहेको छ ।

अन्यथा नसोचीकन हेर्ने हो भने न्याय सबैको लागि बराबर हुनुपर्छ भन्ने मान्यतासँग पनि यो जात्रा जोडिएको छ । इन्द्र स्वर्गका राजा र भगवान भए पनि उनले गरेको चोर कर्मका लागि सजाए पाएका छन् । त्यसैले इन्द्रजात्रा उनको इज्जतकासाथ गरिएको बेइज्जत पनि हो । जुन इन्द्रलाई पनि स्वीकार्य भएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
TP Mishra
TP Mishra
2022-09-13 11:10 am

मन पर्यो

रिलेटेड न्युज

छुटाउनुभयो कि ?