चाडपर्व नजिकिएसँगै महँगियो बजार

फोटो : कलैया उपमहानगरपालिका १ कलैया बजारमा तरकारी बेच्दै ब्यापारी ।

Read Time = 7 mins

-संजीव कुमार मिश्रा
बारा । चाडवाड नजिकिए सँगै कलैया बजारमा दैनिक उपभोग्य सामानको भाउ पनि आकाशिएको छ ।
कलैया बजारमा मालसामान खरीद गर्न बारा सदरमुकाम कलैया लगायत जिल्लाको ग्रामिण भेगबाट मानिसहरु किनमेल गर्न आउँछन् । नुन देखि सुनसम्म विक्री हुने यो बारा जिल्लाकै सबैभन्दा पुरानो बजार हो ।

हरेक वर्ष झै यस वर्ष पनि चाडवाड नजिकिए सँगै हरियो तरकारी लगायत दैनिक उपभोग्य समानको भाउ आकाशिएको छ ।
हरियो तरकारी महंगिए पछि उपभोक्ताहरु मारमा परेका छन् । हप्ता भित्रै आलु, प्याज छोडेर दैनिक भान्सामा प्रयोग हुने हरियो तरकारी महंगिदा उपभोक्ताहरु मारमा परेका हुन्।

हप्ता अगाडी मात्र १० रुपैयामा विक्री वितरण हुँदै आएको भिन्डी, घिरौला लगायतका हरियो तरकारीहरु ५ गुणा भन्दा बढी बढिसकेको कलैया उपमहानगरपालिका १ का हिरामन प्रसाद साहले जानकारी दिनुभयो ।

एक हप्ता अगाडी मात्र १० देखि १५ रुपैयाँमा विक्री वितरण हुुँदै आएको भिन्डी अहिले ५० रुपैया पुगेको छ उहाँले भन्नुभयो,‘ त्यति मात्र कहाँ हो र ? प्रति किलो २० रुपैयाँमा विक्री वितरण हुँदै आएको घिरौला अहिले ५० देखि ६० रुपैयाँ प्रतिकिलो विक्री वितरण भइरहेको छ । एक हप्ता अगाडी १ सय रुपैयामा झोला भरि तरकारी हुन्थ्यो तर अहिले १ सयमा दुई छाक पु-याउन गाह्रो भएको छ । १ सय रुपैयाँमा २ किलो तरकारी पनि आउँदैन । त्यसैले हामी जस्ता दिनहुँ मजदुरी गरेर जिवनयापन गर्ने मजदुरहरुलाई झनै पिर थपिएको उहाँले बताउनुभयो ।

केही दिन अगाडी मात्र परेको वर्षाको कारण तरकारीका बोट विरुवाहरु सुकेको र भएका बोटहरुबाट समेत चाहिएको जति मात्रामा तरकारी उत्पादन हुने सकेको छैन, कलैया उपमहानगरपालिका ९ का किसान महेन्द्र महतोले भन्नुभयो,‘तरकारीका बोटहरु सुक्न थालेका छन्, र पानीको कारण तरकारी उत्पादनमा समेत ह्रास भएको कारण तरकारीको मूल्य एक्कासी बढेको उहाँले बताउनुभयो ।’

कलैया बजार लगायत स्थानीय तहका गुदरी बजार, हाट बजार र चोकचोकमा दैनिक लाग्ने बजारहरुमा प्रायःसबै ठाउँमा दुईचार रुपियाँको फरकफरक दर रेटमा हरियो तरकारी बिक्री वितरण भई रहेको कलैया तरकारी बजार व्यवस्थापन समितीका अध्यक्ष तथा बारा उधोग बाणिज्य संघको कार्य समिती सदस्य दिपलाल प्रसाद साहले जानकारी दिनुभयो । अहिले किसानले नै महंगोमा तरकारी दिएको कारण हरियो तरकारीको भाउ एक्कासी बढेको उनले बताउनुभयो ।

पहिलाको अपेक्षामा अहिले बजार व्यवस्थापनमा कुनै समस्या नरहेको तथा नापतौलमा पनि ८०/८५ प्रतिशत व्यापारीहरुले पुरानो ढक, तराजु छोडेर बिद्युतिय तराजु प्रयोगमा राखेको उहाँले बताउनुभयो । हाल हरियो तरकारी घिरौला ५०/६०, करेला ६०/८०, झिगुनी ६०/८०, रामतोरिया ५०/६०, काक्रो १००/१२०, प्याज ४५/५०, फुलगोभी १४०/१६०, गोलभेडा १ सय रुपैयाँ प्रतिकिलो विक्री वितरण हुँदै आएको छ । यस्तै लौका प्रतिगोटा ७०/८० र बोडी प्रति पुल्ला ४०/५०, सागको पुल्ला १०/१५ मा बिक्री भईरहेको छ ।

केहीदिन अगाडी बजारमा घिउरा १०/२०, करेला ३०/४०, झिगुनी २०/३०, रामतोरिया १०/२०, काक्रो ६०/७०, प्याज ३०/४० प्रतिकिलोमा बिक्री हुदै आएको थियो । यस्तै लौका प्रतिगोटा २०/३० र बोडी प्रति पुल्ला १०/५०, गोलभेडा ४०/५०, फुलगोभी ६०/७० रुपैयाँ प्रतिकिलो र सागको पुल्ला ५ मा बिक्री हुँदै आएको थियो ।

हामीले किनेको ठाउँमा नै हरियो तरकारी महंगो भएको कारण महंगोमा बेच्नु परेको कलैया उपमहानगरपालिका १ कलैया बजारमा व्यापार व्यवसाय गर्दै आएका संतोष साहले बताउनुभयो । किसानले उब्जाएको तरकारी खेतमै महंगोमा विक्री वितरण गरेकोले तरकारी महंगिएको उहाँले जानकारी दिनुभयो ।

कृषकहरुले करिब ५ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा बर्षे तरकारी खेती गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् वाली विकास अधिकृत राजनारायणप्रसाद साहले जनाउनु भयाे ।

वर्षाको पानीले बोटहरु सुकी स्थानीय रुपमा उत्पादन कम भएको र बाहिरबाट तरकारीको आपूर्ति भइरहेको कारण भाउ बढेको उहाँले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?