रेसुंगा नगरपालिकाका १४ नम्बर वडाको सम्पर्क कार्यालय स्थापना

Read Time = 6 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको एक वडाले सम्पर्क कार्यालय स्थापना गरेको छ । भौगोलिक रुपमा विकट रहेको रेसुंगा नगरपालिका वडा नम्बर–१४ मा वडाको सम्पर्क कार्यालय स्थापना भएपछि स्थानीयहरु निकै हर्षित भएका छन् । भौगोलिक रुपमा ठगिएको तथा विकासले पछाडि पारिएको रेसुंगा नगरपालिकाका १४ वटा वडामध्येकै सुदुरको वडाको रुपमा रहेको पराल्मी रातामाटामा वडाको सम्पर्क कार्यालय स्थापना भएपछि रातामाटाबासी निकै उत्साहित देखिएका हुन् । रातामाटामा अवस्थित कोतघरमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

एउटै वडा भएपनि भौगोलिक कठिनाईका कारण यस वडा वारी–पारी विभाजित छ । बीचमा रेसुंगाबाट बग्दै आएको टेकुवा खोलो छ । वारीपारी गर्न सहज पुलको समेत राम्रो प्रबन्ध छैन् । यस वडाको वडा कार्यालय पराल्मीको डाँडापोखरी भन्ने ठाउँमा अवस्थित छ । जहाँ पुग्न रातामाटाबासीका लागि घण्टौं हिड्नुपर्छ । मोटरबाटो समेत सुगम छैन् । बर्खामासमा पैदलनै हिडेर जाँदा पहिरोको जोखिम हुन्छ । यहाँका नागरिक बितेको पाँच वर्षसम्म सामान्य सिफारिसका लागि घण्टौं हिडेर सेवा लिन बाध्य थिए ।

नागरिकको सहजताका लागि यो सम्पर्क कार्यालय स्थापना गरिएको हो । उक्त सम्पर्क कार्यालयको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पराल्मीको साविक वडा नम्बर– ७ रातामाटामा अवस्थित कोतघरमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । सम्पर्क कार्यालयको अभावमा सामान्य पञ्जीकरण तथा सिफारिस बनाउनका लागि पनि रातामाटाबासीहरु घण्टौं लगाएर पराल्मी पुग्नुपर्ने बाध्यता रहेको थियो । सम्पर्क कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले घण्टौं लगाएर सेवा लिन वडा कार्यालय पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

“यो वडा विकासको दृष्टिले पछाडि पारिएको दुर्गम वडा हो । भौगोलिक विकटताका कारण यस वडा वारी–पारी विभाजित भएको छ ।” उहाँले भन्नुभयो, “एउटै वडाका दाजुभाई भेट हुन पनि लामो समय हिड्नुपर्ने बाध्यता छ ।” चार महिना अघि निर्वाचनको समयमा आफूले सम्पर्क कार्यालय मार्फत वडाको सार्वजनिक प्रशासनको सेवालाई रातामाटाबासीको आँगनमा पु¥याउन गरेको प्रतिवद्धता पुरा गरेको उहाँले बताउनुभयो ।

“थुप्रै भौतिक पूर्वाधारको संरचना निर्माण गर्नुभन्दा सार्वजनिक प्रशासनिक सेवालाई छरितो र नागरिकको घरदैलोमा पु¥र्याउने कार्य महत्वपूर्ण हो ।” नगरप्रमुख पन्थीले भन्नुभयो, “यहाँका नागरिकहरुले सम्पर्क कार्यालयबाट भरपुर सेवा लिनु हुनेछ ।” उहाँले वडा कार्यालय तथा सम्पर्क कार्यालयबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुलाई सरल, सहज र चुस्त राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

आफू निर्वाचित भएपछि नगरमा थुप्रै विकासका कार्यहरुको थालनी गरेको बताउनुभयो । गरिब, विपन्न, असाहय नागरिकहरुका लागि मोति विन्दुको निःशुल्क शल्यक्रिया, एसईई परीक्षामा ३।२ जिपिए ल्याउने विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि मासिक ४ हजारका दरले छात्रवृत्तिको व्यवस्था गरेको, कृषकहरुको सहजताका लागि पशुमा कृत्रिम गर्भाधान प्रक्रियाको सम्झौता गरेको, सडक बालबालिकाहरुलाई शिक्षासंग जोडेको लगायतका महत्वपूर्ण कार्यहरुलाई अगाडी बढाएको नगरप्रमुख पन्थीले बताउनुभयो ।

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले भौगोलिक कठिनाईका कारण वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई सरल बनाउन सम्पर्क कार्यालयको शुभारम्भ गरिएको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरी यस कार्यलाई पूर्णता दिर्ईएको अर्यालले बताउनुभयो । वडा अध्यक्ष धनबहादुर पुनले सम्पर्क कार्यालयको स्थापना र सञ्चालनका लागि सहयोग गरेको भन्दै नगरप्रमुख पन्थी, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

वडाध्यक्ष पुनका अनुसार हप्ताको दुई दिन सम्पर्क कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने सम्पूर्ण सेवाहरु प्रवाह गरिनेछ । वडा सदस्य लक्ष्मी पन्थीले सम्पर्क कार्यालय शुभारम्भ भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले घण्टौ लगाएर वडाको सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?