सेमिफाइनल समिकरण पूरा, भारतको साफ इतिहासमा पहिलो हार

Read Time = 6 mins

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई हराएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । यस सँगै सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनल खेलमा अब भुटान र बंगलादेश तथा दोस्रो सेमिफाइनल खेल नेपाल र भारत बीच हुने भएको छ ।

साफ महिला इतिहासमै भारतले पहिलो हार भोगेको छ । यस अघि भारतले बंगलादेशसँग २०१६ मा गोल रहित बराबर खेलेको थियो । यसअघिका प्रतियोगितामा उपाधि जितेको भारतले बंगलादेशसँग ३-० ले पराजित भएसँगै पहिलो हार भोगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको मंगलबारको खेलमा बंगलादेशले भारतविरुद्ध परिपक्क खेल देखाउन सफल भएको थियो । सुरुआतबाट नै आक्रामक खेलेको बंगलादेशले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप एक गोल गर्दै साविक विजेतामाथि रोमाञ्चक जित निकालेको हो । समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाउने क्रममा बंगलादेशका लागि मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन भने श्रीमोती सरकारले एक गोल थपिन ।

ऐतिहासिक जित निकालेको बंगलादेशले भारतलाई पहिलो पटक हराएको हो । १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेशले पहिलो हाफमा २-० को अग्रता निकालेको थियो । पहिलो हाफको अग्रता सँगै उच्च मनोबलका साथ खेलेको बंगलादेशका लागि ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन । पछि परेको भारत खेलमा फर्किन निकै कोशिस गरे पनि सफल हुन सकेन । भारतले बनाएका केही अवसर बंगलादेशकी गोलकिपर र डिफेन्डरले विफल पारेका थिए । बाँकी समयमा थप गोल हुन सकेन र भारत पहिलो पटक साफ इतिहासमा नतिजा सुम्पिन बाध्य बन्यो ।

यस जितसँगै बंगलादेश अपराजित रहदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ए मा ३ खेलबट ९ अंक बनाउँदै समूह विजेता बन्दा समान ३ खेल खेलेका भारतले ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । यस अघि समूह बीबाट नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

च्याम्पियनसिप अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७–० को फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा सान्तोवना जित निकाल्यो । ८ वर्ष पछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्तोवना जित निकालेको हो । प्रतियोगिताबाट बाहिरि सकेका दुबै टोलीले मंगलाबार प्रतिस्ठाका लागि प्रतिस्पर्धा गरेका थिए । अघिल्ला खेलमा नतिजा सुम्पिएका दुबै टोलीले सुखद अन्त्यको खोजीमा मैदान उत्रिएका थिए । माल्दिभ्सविरुद्ध फराकिाले जित निकाल्ने क्रममा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन । यस्तै बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले गरे ।

पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसँग३-० ले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६-० ले हारेको थियो भने माल्दिभ्सले पहिलो खेलमा बंगलादेशलाई ५-० को नतिजा सुम्पिएको थियो । यस्तै समूह चरणको दोस्रो खेलमा माल्दिभ्स श्रीलंकासँग १-० ले पराजित भएको थियो । यसअघि, सन २०१४ को साफ महिला च्याम्पियानसिप पाकिस्तानी टिमले खेलेको अन्तिम प्रतियोगिता थियो । त्यति बेला पाकिस्तानले अन्तिम खेलमा भुटानलाई हराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?