काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ३४औं राष्ट्रिय पुरुष टी-२० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७६ रनले हरायो । पुलिसले दिएको २०५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर जम्मा १२८ रनमात्र बनाउन सक्यो । बसिर अहमदले नटआउट ४६ तथा सौरभ खनालले २४ रन जोड्नुभयो ।
बलिङमा पुलिसका ललित राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा चार विकेट गुमाएर २०४ रनको कुल योगफल तयार पारेको थियो । उसका लागि कुशल भुर्तेलले सर्वाधिक ७५ रन बनाउनुभयो भने आरिफ शेखले ५० रनको अर्धशतकीय पारी खेल्नुभएको थियो ।
लुम्बिनीका लागि बलिङमा बसिर अहमद, अनिल खरेल, दीपेन्द्र रावत तथा विशालविक्रम केसीले समान एक-एक विकेट लिनुभयो । जितसँगै पुलिस तीन खेलमा सात अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
कीर्तिपुरमै भएको पहिलो खेलमा अर्काे विभागीय टोली आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो । मधेशले दिएको १०५ रनको सामान्य लक्ष्य आर्मीले १८.१ ओभरमा जम्मा चार विकेट गुमाउँदै पूरा गरेको थियो । आर्मीका विनोद भण्डारीले नटआउट ३४ रन बनाउनुभयो भने रोहित पौडेलले २५ रन जोड्नुभयो । अर्जुन साउदले १७ तथा राजेश पुलामीले नटआउट १६ रनको पारी खेल्नुभयो ।
मधेशका लागि बलिङमा आदिल आलम, रूपेश सिंह र हरिशंकर शाहले समान एक-एक विकेट हात पार्नुभएको थियो । यसअघि पहिले ब्याटिङ गर्दै मधेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०४ रनको कुल योगफल खडा गरेको थियो । उसका सन्तोष कार्कीले २१, हासिम अन्सारीले २० तथा रोहण बिकले नटआउट १७ रन जोड्नुभयो । आर्मीका सोमपाल कामी र सुशन भारीले समान २-२ विकेट लिनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका