उत्तरी सीमा दशैंअघि नै खुल्ने

Read Time = 4 mins

काठमाडौं । भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरू दशैंअघि नै खुल्ने दाबी गर्नुभएको छ । मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रियामा उहाँले चिनियाँ पक्षसँग छलफल गरेर दशैंअघि नै नाका खोेल्ने तयारी भइरहेको बताउनुभएको हो । उत्तरी नाकामा नेपालको कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उहाँको भनाइ छ । निर्देशक पौडेलले हाल दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाइ गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको दाबी गर्नुभयो ।

साथै उहाँले पछिल्लो समय बैंकमार्फत् पाँच सय डलरसम्मको डेबिट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताउनुभएको छ । एउटै व्यक्तिले ए, बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत् व्यापार गर्ने गरेको जानकारी आएको उहाँले बताउनुभयो ।

निर्देशक पौडेलका अनुसार चिनियाँ पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन् । तर, हाल नेपालको स्वास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ । त्यसैगरी नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गर्नुभयो । उहाँले राजस्व परामर्श समितिलाई लिखितरूपमा नै सुझावसहित माग पेश गरेको जानकारी गराउनुभयो । सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरूको महान पर्व दशैंका लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको गुनासो गर्नुभयो । दशैैंमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारी पलायन हुने अवस्था आउनसक्ने उहाँको भनाइ छ । उहाँले नेपाली व्यवसायीले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामान उत्तरी नाका लासा, सिगाप्से, केरुङ र खासालगायतका नाकामा रोकिएको बताउनुभएको छ ।

पराजुलीले भन्नुभयो, ‘चीनबाट नेपाली व्यवसायीले खरिद गरेर ल्याएका सामान उत्तरी नाकाका विभिन्न स्थानमा आएर रोकिएको छ । लासा, सिगात्से, केरुङ र खासालगायतका नाकामा सामान रोकिएका हुन् । ती सामान दशैंमा पनि आएनन् भने व्यवसायीलाई व्यापार गर्न गाह्रो छ । अहिले व्यवसायीले राष्ट्र बैंकले कर्जामा कडाइ गर्दा कर्जा पाएका छैनन् । महँगो ब्याजदरमा ऋण लिएर चीनबाट सामान खरिद गरेर ल्याउने र नेपालमा व्यापार गर्ने, सरकारलाई कर तिर्ने गरेका छन् । तर, समयमै सामान नआउँदा व्यवसायीले आत्महत्यासमेत गर्न थालेका र पलायन हुन थालेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?