‘चाडपर्व नजिकिएसँगै महँगियो बजार’

हिमालय टाइम्स
Read Time = 8 mins

सञ्जीवकुमार मिश्रा/हिटा
बारा । सरकारले दशैँ लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विशेष बजार अनुगमन सुरु गरिसकेको छ । विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरिरहेका छन् । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले विभागले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाएको हो ।

तर मोफसलमा भने अझै बजार अनुगमन नहुँदा दैनिक उपभोग्य सामानको भाउमा एकरूपता देखिन सकेको छैन । यस्तै अवस्था बारा जिल्लामा पनि देखिएको छ । समस्या बारा जिल्लाको मात्र होइन पूरै प्रदेशकै हो । अहिले तराईका बजारमा खाद्य सामग्रीकोे मूल्यमा एकरूपता नभएको भन्दै सर्वसाधारणले गुनासो गरिरहेका छन् ।
कलैया बजारमा मालसामान खरिद गर्न बारा सदरमुकाम कलैयालगायत जिल्लाको ग्रामीण भेगबाट मानिसहरू आउने गर्छन् । नुनदेखि सुनसम्म बिक्री हुने यो जिल्लाकै पुरानो बजार हो । हरेक वर्षझैँ यस वर्ष पनि चाडबाड नजिकिएसँगै हरियो तरकारीलगायत दैनिक उपभोग्य समानको भाउ आकाशिएको छ । हरियो तरकारी महँगिएपछि उपभोक्ताहरू मारमा परेका छन् । हप्ताभित्रै आलु, प्याज छाडेर दैनिक भान्सामा प्रयोग हुने हरियो तरकारी महँगिदा उपभोक्ताहरू मारमा परेका हुन् । हप्ता दिन अगाडि मात्र १० रुपैयाँमा बिक्री वितरण हुँदै आएको भिण्डी, घिरौँला लगायतका हरियो तरकारीहरू पाँच गुणाभन्दा धेरै बढिसकेको कलैया उपमहानगरपालिका–१ का स्थानीय हिरामनप्रसाद साहले जानकारी दिनुभयो ।

एक हप्ता अगाडि मात्र १० देखि १५ रुपैयाँमा बिक्री वितरण हुुँदै आएको भिण्डी अहिले ५० रुपैयाँ पुगेको छ उहाँले भन्नुभयो, ‘त्यति मात्र कहाँ हो र ? प्रतिकिलो २० रुपैयाँमा बिक्री वितरण हुँदै आएको घिरौँला अहिले ५० देखि ६० रुपैयाँ प्रतिकिलोमा बिक्री वितरण भइरहेको छ । एक हप्ता अगाडि एक सय रुपैयाँमा झोलाभरि तरकारी हुन्थ्यो तर अहिले एक सयमा दुई छाक पु¥याउन गाह्रो भएको छ । एक सय रुपैयाँमा दुई किलो तरकारी पनि आउँदैन । त्यसैले हामी जस्ता दिनहुँ मजदुरी गरेर जीवनयापन गर्ने मजदुरहरूलाई झनै पीर थपिएको उहाँले बताउनुभयो ।

तराईमा यो वर्ष पर्याप्त वर्षा नहुँदा तरकारीका बोट विरुवाहरू सुकेको र भएका बोटहरूबाट समेत चाहिएको जति मात्रामा तरकारी उत्पादन हुन नसक्दा अहिले जिल्लामा समस्या देखिएको कलैया उपमहानगरपालिका-९ का किसान महेन्द्र महतोले भन्नुभयो, ‘तरकारीका बोटहरू सुक्न थालेका छन्, र पानीको कारण तरकारी उत्पादनमा समेत ह्रास भएको कारण तरकारीको मूल्य एक्कासि बढेको उहाँले बताउनुभयो ।’

कलैया बजारलगायत स्थानीय तहका गुदरी बजार, हाट बजार र चोकचोकमा दैनिक लाग्ने बजारहरूमा प्रायः सबै ठाउँमा दुईचार रुपैयाँको फरकफरक दर रेटमा हरियो तरकारी बिक्री वितरण भई रहेको कलैया तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष तथा बारा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य दीपलालप्रसाद साहले जानकारी दिनुभयो । अहिले किसानले नै महँगोमा तरकारी दिएको कारण हरियो तरकारीको भाउ एक्कासि बढेको उहाँको भनाइ छ ।

पहिलाको अपेक्षामा अहिले बजार व्यवस्थापनमा कुनै समस्या नरहेको तथा नापतौलमा पनि ८०/८५ प्रतिशत व्यापारीहरूले पुरानो ढक, तराजु छोडेर विद्युतीय तराजु प्रयोगमा राखेको उहाँले बताउनुभयो । हाल हरियो तरकारी घिरौँला ५०/६०, करेला ६०/८०, झिगुनी ६०/८०, रामतोरिया ५०/६०, काँक्रो १००/१२०, प्याज ४५/५०, फूलगोभी १४०/१६०, गोलभेंडा एक सय रुपैयाँ प्रतिकिलो बिक्री वितरण हुँदै आएको छ । यस्तै, लौका प्रतिगोटा ७०/८० र बोडी प्रतिपुल्ला ४०/५०, सागको पुल्ला १०/१५ मा बिक्री भइरहेको छ । केही दिन अगाडि बजारमा घिरौँला १०/२०, करेला ३०/४०, झिगुनी २०/३०, रामतोरिया १०/२०, काँक्रो ६०/७०, प्याज ३०/४० प्रतिकिलोमा बिक्री हुँदै आएको थियो । यस्तै, लौका प्रतिगोटा २०/३० र बोडी प्रतिपुल्ला ४०/५०, गोलभेंडा ४०/५०, फूलगोभी ६०/७० रुपैयाँ प्रतिकिलो र सागको पुल्ला पाँच रुपैयाँमा बिक्री हुँदै आएको थियो ।

आफूहरूले किनेको ठाउँमा नै हरियो तरकारी महँगो भएको कारण महँगोमा बेच्नु परेको कलैया उपमहानगरपालिका–१ कलैया बजारमा व्यापार व्यवसाय गर्दै आउनुभएका सन्तोष साहले बताउनुभयो । किसानले उब्जाएको तरकारी खेतमै महँगोमा बिक्री वितरण गरेकाले तरकारी महँगिएको उहाँले जानकारी दिनुभयो । कृषकहरूले करिब पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा वर्षे तरकारी खेती गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवम् बाली विकास अधिकृत राजनारायण प्रसाद साहले बताउनुभयो । वर्षाको पानीले बोटहरू सुकी स्थानीय रूपमा उत्पादन कम भएको र बाहिरबाट तरकारीको आपूर्ति भइरहेको कारण भाउ बढेको उहाँले जानकारी दिनुभयो ।

यस्तो समस्या तरकारीमा मात्र नभएर फलफूलमा पनि देखिएको छ । अहिले फलफूलको मूल्यमा पनि एकरूपता छैन । जसका कारण चाडबाडको मुखमा स्याउ केरा लगायतका फलफूलको मूल्य पनि आकासिएको छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढाएर व्यापार गरिरहेको उपभोक्ताहरू बताउँछन् । फलफूल व्यापारीहरूले भने चीनबाट फलफूल नआएकाले महँगो भएको बताएका छन् । फलफूल बजार कुलेश्वरमा एउटै दरको बजार मूल्य नभइदिँदा पनि समस्या आइरहेको उनीहरूको भनाइ छ । व्यापारीहरूले नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार नधान्ने र चीनबाट सवारीसाधनहरू नआउँदा केही महँगो भएको बताएका छन् । यस्तै, अहिले बजारमा दाल, चामल, चिनी, तेल, लत्ता कपडा लगायतका वस्तुको मूल्यसमेत बढाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?