कर्णालीका मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्न ? हामीले सहज रूपमा पढ्न किन पाउँदैनौँ ?

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । कर्णाली र सुदूरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिवर्तन हुँदै आएका छन् । अन्य समुदायको नजिक नै पर्न नरुचाउने यो समुदाय अहिले आफ्ना समस्याबारे सरकारसँग प्रश्न गर्न थालेका छन् । सुर्खेतमा आयोजना गरिएको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई लामो प्रश्न तेर्साएका छन् ।

बालबालिकाले बाल अधिकारको हतहितको लागि मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गर्नुभएको छ । उहाँहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयले निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण सरकारले सामुदायिकभन्दा कम सुविधा दिने गरेको बताउनुभयो ।

यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभर स्वास्थ्य सेवा उपलब्धतालगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनीकरण हुन नसकेको स्वीकार गर्नुभयो ।

यता, लोपोन्मुख राउटे समुदायका एक बालकले आफ्ना हकहितलाई लिएर मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाबाट फोनमार्फत राउटे बालक सुविन शाहीले अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?,’ सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ भन्दै जवाफ माग्नुभयो ।

शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको बताउनुभयो । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उहाँले भन्नुभयो, ‘तपाईहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’ मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले पनि आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताउनुभयो । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?