श्राद्ध गर्ने रकम क्यान्सर रोगीको उपचारमा सहयोग

हिमालय टाइम्स
Read Time = 4 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीकी एक मनकारी महिलाले पितृकार्य (श्राद्ध) मा खर्च हुने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गरेर उदाहरणीय काम गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तीथि पारेर पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका-२ राखु भगवतीका ४७ वर्षीय रिमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको हो ।

अत्यन्त कमजोर आर्थिक अवस्थाका विकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको खबर थाहा पाएपछि घिमिरेले आफ्ना दिवंगत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर सात हजार ५०५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको क्यान्सर पीडित रिमबहादुर विकले जानकारी दिनुभयो ।

स्वर्गीय ससुरा रुद्रबहादुर घिमिरे, स्वर्गीय सासू कालिका घिमिरे र स्वर्गीय श्रीमान भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताउनुभयो ।

‘उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ’ घिमिरेले भन्नुभयो, ‘कहिले ज्येष्ठ नागरिक आश्रम, कहिले बालगृह र अन्य ठाउँहरूमा पनि पितृको स्मृतिमा सक्दो आर्थिक सहयोग गर्दै आएकी छु, अहिले क्यान्सर जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ’ घिमिरेले भन्नुभयो ।

विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लगाएको थियो । औषधि उपचार गरिरहेका विकलाई डाक्टरले पेटको अप्रेसन गर्न भनेको छ । हाल क्यान्सर रोगको अप्रेसन गर्न महँगोे खर्च लाग्छ । अहिले शरीरमा किमो र औषधि प्रयोग भइरहेको छ । पेटको क्यान्सरको अप्रेसन गर्न २० लाखभन्दा माथि खर्च हुने डाक्टरले बताएको विकले जानकारी दिनुभयो ।

अहिलेसम्म औषधि उपचार र किमोमा गरी १० लाख खर्च भइसकेको बताउँदै विकले भन्नुभयो, ‘कति किमो लगाउने हो यकिन छैन । अस्पतालमै बसेर उपचार गर्ने पैसा छैन । मनकारी सहयोगदाताहरूसँग उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गर्दछु ।’

दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको घरखर्च सञ्चालन गर्नुभएका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । श्रीमानको क्यान्सर रोगको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनी तथा संघसंस्थाले आर्थिक सहयोग गरिदिन श्रीमती लक्ष्मी विकले अपिल गर्नुभएको छ । उहाँलाई आर्थिक सहयोग गर्न चाहनेले ९८४३५४१४१८ वा ९८२१३९५२७० नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?