सडकको दुरावस्थाका कारण ढोरपाटनमा पर्यटक आगमन न्यून

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुईपटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मंसिर र फगुनदेखि वैशाखको बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।

तर, ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण हो सडक । राष्ट्रिय प्राथमिताको आयोजना सालझण्डी-ढोरपाटन सडक खुलेको एक दशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ । जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ । सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षित रुपमा ढोरपाटन पुग्न सकेका छैनन् ।
ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गरेका छन् । चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनु परेको बताउनुभयो । बस्यालले ढोरपाटनको नाम धेरै पटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा बितरा पर्नु परेको सुनाउनुभयो ।

‘ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराम रैछ, बाइकमा जाने त सम्भावना नै रहेन छ, गाडीमा पनि निकै मुस्किल हुँदो रैछ, धेरैपटक नाम सुनेको र सामाजिक सञ्जालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो,’ बस्यालले भन्नुभयो, ‘जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिको बेला निकै समस्या पर्‍यो, झण्डै बिच्च परियो, तीन दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रैछ ।’
सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ । सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ । ढोरपाटन नगरपालिका-९ का खिमबहादुर सुनारले सडकका कारण टाढा-टाढाबाट आउने पर्यटकले दुःख पाएको बताउनुभयो । उहाँले यो सडकमा ट्रयाक्टरबाहेक अरू हिँड्न नसक्ने भन्दै गाडीहरू लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

‘यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ, अझ दुई वर्ष अगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटकहरू आउँछन्,’ सुनारले भन्नुभयो-‘सडकको हालत निकै खराब छ, ट्रयाक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकहरूले राम्रो–राम्रो गाडी लिएर आउनुहुन्छ, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ, त्यसले गर्दा पर्यटक निराश भएर फर्किनुहुन्छ, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन् ?, अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराख्छन् ।’

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले सडक खुलेको दशक बढी हुँदा पनि कालोपत्रे नहुँदा अपेक्षाअनुसार ढोरपाटनमा पर्यटक भिœयाउन नसकेको बताउनुभयो । उहाँले सालझण्डी-ढोरपाटन सडकको नाम दिए पनि काम भने अर्घाखाँचीसम्म मात्रै हुँदा अपेक्षित रूपमा ढोरपाटन भिœयाउन नसकेको उहाँको दाबी छ ।

‘ढोरपाटन पर्यटकीय हिसाबले देशकै उत्कृष्ट गन्तव्य हो, तर यहाँसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण छ, सडकको नाम ढोरपाटनसँग जोडियो काम भने अर्घाखाँची तिर मात्रै भयो, उपप्रमुख कायतले भन्नुभयो- ‘बुर्तिबाङदेखि ढोरपाटन सम्मको सडक राम्रो हुन्थ्यो भने वर्षमा हजारौँ पर्यटक ढोरपाटन पु¥याउन सकिन्थ्यो, सडकको यस्तो अवस्था हुँदा निकै समस्या भयो ।’

कायतले सडकका कारण ढोरपाटन क्षेत्र पछाडि परेको बताउनुभयो । उहाँले विकासको मुख्य आधार सडक भएको भन्दै सडकको दुरावस्था हुँदा ढोरपाटन क्षेत्र पिछडिनु परेको उहाँको भनाई छ । उपप्रमुख कायत भन्नुहुन्छ- ‘ढोरपाटनले पर्यटनका हिसासबले निकै सम्भावना बोकेको छ, तर सडकले गर्दा यो क्षेत्र नै पछाडि प¥यो, वर्षौँदेखि सडकको यो अवस्था छ, एउटै सडकको पनि दक्षिण काम हुने यस क्षेत्रमा काम नहुँदा हामी पछाडि पर्नु परेको छ ।’

कायतले ढोरपाटन आउने पर्यटक सडकको दुरावस्थाका कारण बुर्तिबाङ बजारदेखिनै फर्किने गरेको बताउनुभयो । उहाँले ढोरपाटन नामले विश्वमा चिनिए पनि कामले भने निकै पछाडि परेको बताउनुहुन्छ । ‘ढोरपाटन जानका लागि धेरै पर्यटक आउनुहुन्छ, सडकको अवस्था देखेर कोही बुर्तिबाङ बजारदेखिनै फर्किएर अन्तै जानुहुन्छ भने कोही सहीखोला, दोगाडी र बोबाङसम्म पुगेर फर्किनुहुन्छ, सडकको अवस्था नफेरिएसम्म पर्यटकलाई ढोरपाटन पुर्‍याउन समस्या छ, ढोरपाटन नामले विश्वमा चिनियो तर कामका हिसाबले निकै पछाडि पर्‍यो’ उपप्रमुख कायतले भन्नुभयो ।

कायतले सडकको काम तत्काल सुरु गर्न सालझण्डी-ढोरपाटन आयोजनालाई आग्रह गरेको र अहिले टेण्डर आ≈वान भइसकेको बताउनुभयो । बुर्तिबाङ मध्यपहाडी लोकमार्गले जोडिएको पनि ढोरपाटन जोडिएको छैन । बागलुङ सदरमुकाम हुँदै बुर्तिबाङ जोडिएको लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको छ ।

ढोरपाटन पुग्न सालझण्डी-ढोरपाटन सडकमार्फत जानुपर्छ । यो सडक अर्घाखाँची हुँदै आएको छ । अर्घाखाँची क्षेत्रमा सडक स्तरोन्नति भइसके पनि बागलुङ खण्डमा हुन सकेको छैन । ढोरपाटन बुर्तिबाङदेखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यहाँसम्म पुग्नै पुरै कच्ची सडकमा यात्रा गर्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?