स्थानीय उत्पादन बिक्रीका लागि किसान धाउँछन् बिपी राजमार्ग

हिमालय टाइम्स
Read Time = 7 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । सिन्धुलीको स्थानीय उत्पादनले बजार पाउन थालेको छ । बिक्रीका लागि किसान र स्थानीय व्यापारी बिपी राजमार्ग धाउँछन् । योसँगै राजमार्गमा यात्रुको आवात-जावत पनि बढ्दै गएकाले यहाँको उत्पादन बिक्री गर्न सजिलो भएको हो ।

जुनारको जिल्ला भनेर चिनिएको सिन्धुलीमा जुनार र जुनारको जुसमात्र होइन, आँटी, अम्बा, अकबरे खुर्सानी, अकबरे खुर्सानीको अचार, काँक्रो, भुइँकटहर, केरालगायतका मौसमी तथा बेमौसमी फलफूल र अर्गानिक तरकारीको उत्पादन पनि राम्रो हुन्छ । यिनै स्थानीय उत्पादन बिक्रीका लागि राजमार्ग आसपास क्षेत्रका किसान र स्थानीय व्यापारी बिपी राजमार्ग छेउछाउ धाउने गर्दछन् ।

जिल्लाको सदरमुकाम सिन्धुलीमाढी बजार, बनेपा-सिन्धुली-बर्दिबास (बिपी) राजमार्ग अवस्थित सेल्फी डाँडा, नयाँखर्क बजार, खुर्कोट बजारलगायतका राजमार्ग छेउछाउमा यतिबेला विशेषगरी मौसमी फल आँटी, अम्बा र अकबरे खुर्सानी बेच्न राखिएको देखिन्छ । साउनदेखि कात्तिकसम्म आँटी र अम्बाको पनि सिजन हो । राजमार्गका ठाउँ-ठाउँमा किसान र व्यापारी बिक्रीका लागि प्लाष्टिकको झोलामा भाग लगाएर हात-हातमा बेच्न राख्ने गरेको भेटिन्छ ।

सुनकोशी गाउँपालिका-३ बोहोरेटार अवस्थित राजमार्ग छेउमा एक महिनादेखि यसको मात्र बजार लागेको छ । यी फल सुनकोशी गढतिर क्षेत्रको माथिल्लो पाखो भित्तो र बारीको काँन्लामा रहेका बोटमा लटरम्म छन् । यिनै स्थानीयस्तरमा उत्पादित फलको बजार यहाँ लागेको हो । मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्ग निर्माण भएसँगै बिपी राजमार्गमा सवारीसाधनको आवत-जावत बढेको छ । राजमार्ग र राजमार्गलाई जोड्ने भित्री सडकहरू सञ्चालनमा आउनुअघिसम्म बोटमै खेर जाने मौसमी फलफूलले अहिले आम्दानी दिन थालेको सुनकोशी गाउँपालिका-५ का ज्ञानमान तामाङ बताउनुहुन्छ ।

उहाँका अनुसार कुहिएर सकिने मौसमी फलफूल र तरकारीहरूले अहिले राम्रो भाउ पाउन थालेका हुन् । ‘पहिला यहाँ फल्ने आँटी र अम्बा चराचुरुंगीले खान्थे । मान्छेले खाएर सकिँदैन थियो । कुहिएर जान्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले त राम्रो मूल्यमा बिक्री हुन्छ ।’

सुनकोशी गाउँपालिका-४ का किसान चन्द्रबहादुर मगर राजमार्ग छेउमा बसेर आँटी र अम्बा बेच्दै गरेको अवस्थामा भेटिनुभयो । राजमार्ग अवस्थित बोहोरेटारमा भेटिनुभएका उहाँ पहिले त्यसै कुहिएर जाने अम्बा, आँटी, कागतीलगायतका अन्य मौमसी तथा बेमौसमी फलफूल र तरकारीले बजार पाएको बताउनुहुन्छ । ‘पहिले कुहिएर जान्थ्यो । अहिले राम्रोसँग पाक्न नपाई यसरी बेच्न ल्याउँछांै,’ उहाँले भन्नुभयो । उहाँका अनुसार राजमार्ग सञ्चालन हुनुअघि यहाँको उत्पादनले बजारको मुख देख्न पाउँदैन थियो । अहिले गाउँमै बिक्री भइरहेको छ । अहिले आँटी प्रतिकिलो एक सयदेखि दुई सयसम्ममा बिक्री भइरहेको छ ।

यस क्षेत्रका किसानहरूले मौसमअनुसारका स्थानीय फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आँटी र अम्बाको सिजन सकिएलगत्तै जुनार, सुन्तला, कागतीको बजार सुरु हुने स्थानीय किसान बताउँछन् ।

कमलामाई नगरपालिका-ढुंग्रेभञ्ज्याङकी तिलमाया लिम्बूले अहिले सेल्फी डाँडामा जुनारको जुस, आँटी, भुइँकटहर, अकबरे खुर्सानी, खुर्सानीको अचार, काँक्रो बेच्न राख्नुभएको छ । उहाँका अनुसार राजमार्गका यात्रु सबैले जिल्लाको स्थानीय उत्पादन नै खोज्छन् । मौसमी फलफूलमात्रै होइन, तरकारी पनि राम्रो बिक्री भइरहेको छ । ‘पहिला घरमा बसेरै दिन बित्थ्यो । व्यापार गर्न थालेदेखि मासिक झण्डै ३० हजार कमाइ हुन्छ,’ उहाँले भन्नुभयो ।

यहाँ भद्रकाली सामुदायिक होमस्टेअन्तर्गत चौधवटा स्टल राखिएको छ । सेल्फी हान्ने, टिकटक बनाउने युवायुवतीको विशेष भिड हुन्छ । योसँगै प्राइभेट सवारीसाधनका यात्रुहरूले गर्दा व्यापार व्यवसाय फस्टाएको स्थानीय व्यापारी पवनकुमार श्रेष्ठ बताउनुहुन्छ । भक्तबहादुर गुर्माछाने बिपी राजमार्ग सञ्चालनमा आएसँगै यहाँका स्थानीय बासिन्दालाई धेरै फाइदा पुगेको बताउनुहुन्छ । ‘राजमार्गले यो ठाउँको मुहार नै फेरिदिएको छ । स्थानीय बासिन्दाको दिनचर्या नै बदलिएको छ । आर्थिक, सामाजिक जीवनस्तरमा परिवर्तन आएको छ,’ उहाँले सुनाउनुभयो ।

गाउँ-गाउँमा सडकको पहुँच पुगेसँगै स्थानीय उत्पादनले बजार पाएका छन् । सडकको विस्तारसँगै तरकारी फलफूललगायतका स्थानीय उत्पादनहरू बिक्री गर्न पाएपछि स्थानीय बासिन्दालाई जीविकोपार्जन गर्न सहज भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?