सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गर्नुभयो । साथै उहाँले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाउनुभयो ।

सांसद खगराज अधिरारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गर्नुभयो । उहाँले अघिल्लो सरकारले मुलुकभर एक सय ६५ निर्वाचन क्षेत्रमा अघि बढाएका सडक आयोजनाका लागि वर्तमान सरकारले बजेट निकासा नगरेको आरोप लगाउनुभयो ।

सांसद डा सूर्य पाठकले दोस्रो विश्व युद्धताका बर्मा, थाइल्याण्ड, मलेसियालगायत विभिन्न मुलुक पुगेका थातथलो नेपालमै भएका नेपालीहरु (पिपुल्स अफ ओरिजिन नेपाल) लाई गैरआवासीय नेपालीलाई प्रदान गरिने जस्तै परिचय पत्र प्रदान गर्न सुझाव दिनुभयो । सांसद हितबहादुर तामाङले संविधानअनुसार सबै जातजाति, भाषाभाषीले आफ्नो भाषा प्रयोग गर्न पाउने गरी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?