तिलोत्तमाका ४२ विद्यालयका १४७ विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति

Read Time = 5 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । ५८ औ राष्ट्रिय बाल दिवसको अवसर पारेर नगर प्रमुख रामकृष्ण खाँणले यसअघि नैं घोषणा गरेअनुसार चालु शैक्षिक सत्रको लागि ४२ सामुदायिक विद्यालयका १४७ जना विद्यार्थीलाई बुधबार छात्रवृत्ति प्रदान गर्नुभएको हो ।
नगर प्रमुख खाँणले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका विद्यार्थी संख्या हेरेर नगर प्रमुख सहितको प्रधानाध्यापकको बैठकबाट छनौट गरिएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । सोही अनुसार बुधबार कक्षा १ देखि १२ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनहीँ ४ हजारका दरले रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।
नगरपालिकाले अघिल्लो जनप्रतिनिधिको कार्यकालमा छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन गरेको थियो । सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिस तथा प्रधानाध्यापकहरुको छनौटको आधारमा जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव गंगाराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष छात्रवृत्तिमा ५ लाख ८८ हजार खर्च भएको छ भने १४ लाख बढी कोषमा जम्मा गरिएको छ । हरेक बर्ष सो छात्र वृत्तिलाइ भनेर नगरकार्यपालिकाबाट ५ लाख बजेट समेत पारित गरि सो कोषमा राखिएको आचार्यले जानकारी दिनुभयो ।

छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका १४७ विद्यार्थीलाई छात्रवृत्तिको रुपमा उपलब्ध गराएको वताउनु भयो ।
सभापतिको रुपमा उप–प्रमुख जगेश्वरदेवी चौधरी, रहनुभएको सो कार्यक्रममा अतिथिको रुपमा नेकपा एमालेका नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओबादी नगर अध्यक्ष बेल प्रसाद शर्मा, शान्ति माविका प्रअ कुलप्रसाद लामिछाने, दुर्गादत्त माविका चण्डि प्रसाद पाण्डे, नगर बाल संजाल तिलोत्तमाका अध्यक्ष स्नेहा पौडेल लगायतले पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगर प्रमुख खाणले गर्नुभएको कार्यको प्रशंसा गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै छात्रवृत्ति पाउने बिद्यार्थीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना दिनुभयो।

नगरपालिकाका सबै कार्यपालिका सदस्य वडा अध्यक्ष तथा सदस्य, शिक्षक, अभिवावक, बिद्यालय ब्यबस्थापन समिति, कर्मचारी लगायत बिद्यार्थीहरुको समेत उपस्थिति थियो।सो कार्यक्रममा जीवनी अन्तर सम्बाद कार्यक्रम समेत गरिको थियो। नगर प्रमुख, उपप्रमुख र प्रशासकीय प्रमुखलाइ बाल संजालका सदस्यले जीवनका अन्तर सम्बाद गरि बाल्यकाल सम्बन्धि सो कार्यक्रमममा प्रश्नोत्तर गरिएको थियो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?