साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । पाकिस्तानको जितमा नाडिया खानले हृयाट्रिकसहित चार गोल गर्नुभयो भने रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक-एक गोल गर्नुभयो ।

खेलको ३९औं मिनेटमा रामिनले गोल गर्दै पाकिस्तानलाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यस्तै, खेलको ४८औं मिनेटमा काज्मीले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई २-० को अग्रता दिलाउनुभयो । खेलको ५३औं मिनेटमा नाडियाले गोल गरेपछि पाकिस्तानले तेस्रो अग्रता लियो । त्यसपछि खेलको ७८औं मिनेटमा नाडियाले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई ४-० को अग्रता दिलाउनुभयो ।

खेलको ८४औं मिनेटमा नाडियाले हृयाट्रिक पूरा गर्दै पाकिस्तानलाई ५-० गोलको अग्रता दिलाउनुभयो । खेलको ९०औं मिनेटमा नाडियाले व्यक्तिगत चौथो गोल गर्दा पाकिस्तानले ६-० को अग्रता बनायो ।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ७-० गोलअन्तरले विजयी भयो । यस जितसँगै पाकिस्तानले महिला साफ च्याम्पियनसिपको सुखद अन्त्य गरेको छ । समूह ‘ए’ मा रहेको पाकिस्तानले तीन खेलमा तीन अंक जोड्यो ।

यस खेलसँगै समूह ‘ए’ बाट पाकिस्तान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा माल्दिभ्स भने जितविहीन रहृयो । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

भारत पहिलोपटक पराजित
समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० गोलअन्तरले पराजित गरेको छ । साफ च्याम्पियनसिपको इतिहासमा भारत पहिलोपटक पराजित भएको हो । सन् २०१० देखि सुरुवात भएको उक्त च्याम्पियनसिपमा भारत अपराजित रहँदै आएको थियो ।

बंगलादेशको जितमा मोसमात सिराज जाहनले दुई गोल गर्नुभयो भने श्रीमोती कृष्णरानी सरकारले एक गोल थप्नुभयो । खेलको पहिलो हाफको सुरुवातदेखि नै निकै आक्रामक देखिएको बंगलादेशले खेलको ११औं मिनेटमा पहिलो अग्रता लियो ।

बंगलादेशकी खेलाडी मोसमातले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाउनुभएको हो । उहाँले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गर्नुभयो ।

त्यस्तै, खेलको २३औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्‍यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचबाट बल अघि बढाउँदै सुन्दर गोल गर्नुभयो । त्यसपछि बंगलादेशले खेलको दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ५३औं मिनेटमा सविना खातुनको पासलाई सदुपयोग गर्दै मोसमातले गोल गरेपछि बंगलादेशले भारतमाथि ३-० गोलको सहज जित निकाल्यो । समूह ‘ए’ बाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३-० तथा पाकिस्तानमाथि ६-० को जित निकालेको थियो भने भारतले पहिलो खेलमा पाकिस्तानलाई ३-० र दोस्रोमा माल्दिभ्सलाई ९-० ले हराएको थियो । जितसँगै बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्‍यो भने सोही समूहमा रहेको भारत पनि उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । समूह ‘ए’ मा नै रहेको माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

त्यसैगरी साफ च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनल खेलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको छ । नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । उक्त खेल यही भदौ ३१ गते हुनेछ । समूह ‘बी’ को उपविजेता भुटानले समूह ‘ए’ को विजेता बंगलादेशसँग खेल्ने पक्का भएको छ । उक्त सेमिफाइनल खेल पनि भदौ ३१ गते नै हुनेछ । प्रतियोगितामा समूह ‘बी’ बाट श्रीलंका बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?