काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को विजेता बनेको छ । नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मी समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । जितका लागि १७८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित १८ ओभरमा आठ विकेट गुमाउँदै १६४ रनमात्रै बनाउन सक्यो । पुलिसका आरिफ शेखले २४ बलमा एक चौका र तीन छक्कासहित ४० रन बनाउनुभयो ।
यस्तै, पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा एक चौका र दुई छक्कासहित २१ जोड्नुभयो । सुनिल धमला १५ बलमा एक चौका र दुई छक्कासहित २७ तथा पवन सरार्फ २६ बलमा १३ रनमा आउट हुनुभयो ।
आर्मीका स्पिनर शाहब आलमले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामीले चार ओभरमा ४५ रन खर्चेर दुई विकेट लिनुभयो । जितेन्द्र मुखिया र सुशन भारीले एक-एक विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाउँदै १७७ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले २९ बलमा दुई चौका र सात छक्कासहित ६६ रनमा रन जोड्नुभयो ।
युवा विकेटकिपर अर्जुन साउदले ३४ बलमा सात चौका र दुई छक्कासहित ५३, भीम सार्कीले १५ तथा राजेश पुलामीले १४ रन जोड्नुभयो । पुलिसका गुलशन झाले चार ओभरमा ५० रन खर्चेर एक, करण केसीले चार ओभरमा एक मेडनसहित ४३ रन खर्चेर दुई विकेट लिनुभयो ।
समूह ‘बी’ बाट एनआरएनए नेपाल चार खेलमा एकमा जित र तीन खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि खेल्न नपाई बाहिरिएपछि समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।
सुदूरपश्चिम चार खेलमा एकमा जित, एकमा हार र दुई खेलमा अंक बाँड्दै चार अंकका साथ सेमिफाइनलमा स्थान बनायो । प्रतियोगितामा एक खेल पनि खेल्न नपाएका बागमती प्रदेश र एपिएफ चार-चार अंकका साथ तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिए ।
सुदूरपश्चिम, बागमती र एपिएफको चार-चार अंक थियो । सुदूरपश्चिमले एक खेल जितेको हुँदा नियमअनुसार सेमिफाइनलमा पुगेको हो । नियमअनुसार समान अंक भएमा जित भएको मान्ने गरिन्छ ।
आर्मी पाँच खेलमा तीनमा जित र दुई खेलमा अंक बाँड्दै आठ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेता बन्यो । पुलिस पाँच खेलमा दुईमा जित, एकमा हार र दुईमा अंक बाँड्दै ६ अंकका साथ नेट रनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कर्णाली पाँच खेलमा दुईमा जित, एकमा हार र दुई खेलमा अंक बाँड्दै ६ अंक भए पनि नेट रनरेटका कारण बाहिरिएको हो ।
बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उपविजेता सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता पुलिस र समूह ‘बी’ को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शुक्रबार हुनेछ । यदि वर्षाका कारण खेल हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका