लगानीका लागि आग्रह गर्दै दक्षिण कोरियामा अन्तरक्रिया

Read Time = 6 mins

काठमाडौं । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तरक्रिया आयोजना गरेको छ । बैंकले सिओलमा शाखा सञ्चालन प्रक्रिया अघि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीलाई आग्रहसमेत गरेको छ ।

सो अवसरमा अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताउनुभयो । उहाँले कोरियामा रहेका गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रहसमेत गर्नुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजी अभाव छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईंहरूले सहजीकरण गर्नुपर्‍यो ।’
द्रूत आर्थिक विकास र समृद्धिका लागि नेपाललाई स्वदेशी पुँजीका साथै ठूलोमात्रामा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उहाँले कोरियामा रहेका नेपालीलाई मुलुकमा वैदेशिक लगानी र नयाँ-नयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म यहाँका गैरआवासीय नेपाली साथी तथा गैरआवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाईंहामी हातेमालो गरेर अघि बढाँ । तपाईं-हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको सम्मृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईंहरूले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईंहरूको लगानीको सुरक्षा गर्न हामी तयार छौं ।’

आइएमई समूहले गैरआवासीय नेपालीसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको जानकारी गराउँदै उहाँले पर्यटन, केबलकार, होटल, जलविद्युत्लगायत अरू धेरै परियोजना पाइपलाइनमा रहेको र उद्योग वाणिज्य महासंघले पनि गैरआवासीय नेपाली संघसँगको सहकार्यमा केही आयोजनामा काम गर्न सकिने बताउनुभयो ।

उहाँले ग्लोबल आइएमई बैंकले सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रक्रिया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनका लागि स्वीकृति पर्खिरहेको पनि जानकारी गराउनुभयो ।

दक्षिण कोरियाको नेशनल एसेम्ब्लीका सदस्य ली सांगेनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको भन्दै दक्षिण कोरिया सरकार तथा निजी क्षेत्रका लगानीकर्ता नेपालका विभिन्न सम्भावना भएका क्षेत्रमा लगानीका लागि तयार रहेको बताउनुभयो । सो अवसरमा अर्थसचिव कृष्णहरि पुष्कर, वरिष्ठ अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा ज्योति प्याकुरेल तथा गैरआवासीय संघका प्रतिनिधिहरूले कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खोल्दा वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सहज हुने बताउनुभएको थियो । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्लोबल आइएमई बैंकले ल्याएको विदेशी मुद्रा खाता, सञ्चालन प्रक्रिया र फाइदाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?