चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज स्वदेश फर्किंदै

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका ली आज विशेष विमानबाट स्वदेश फर्कन लाग्नुभएको हो । अध्यक्ष ली ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार नेपाल आउनुभएको थियोे ।

सोमबार काठमाडौं अवतरण गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग उहाँले द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

यसअघि अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो ।

बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल(चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो ।

भ्रमणको पहिलो दिन ली चान्सुले सभामुख अग्निप्रसाद सापकोटालाई भेट्नुभएको थियो ।

संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्तामा सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो । नेपालका तर्फबाट सभामुख सापकोटा र चीनको तर्फबाट अध्यक्ष लीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?