असोज १ गतेबाट काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले आज (बिहीबार) सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

महानगरले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘सार्वजनिक स्थलमा धुमपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक स्थललाई धुमपान तथा सुर्तीजन्य पदार्थ मुक्त गर्ने गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सबैमा अनुरोध छ ।’

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?