आजबाट खुल्यो रसुवागढी–केरुङ नाका

काठमाडौं । रसुवागढी-केरुङ नाका आज (बिहीबार) देखि खुला भएको छ। कोभिड–१९ संक्रमण फैलिएसँगै झण्डै तीन बर्ष यता यो नाका बन्द अवस्थामै रहेको थियो ।

चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर आज रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट आजदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिनुभयो।

चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नु परेको व्यापारिक नाका संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको छ। साथै उक्त सन्देशमा बिहीबार चीनबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल पठाइनेसमेत उल्लेख गरिएको पौडेलले जानकारी दिनुभयो।

सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो।

नेपाली पक्षले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आएको छ तर चीनियाँ पक्षले त्यसबारे कुनै प्रतिक्रिया नदिएको खनालले बताउनुभयो। दुवै नाका विगत तीन वर्षदेखि बन्द थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?