“मान्छेको स्वभाव”

Read Time = 9 mins

हाम्रो समाजमा एकदमै धेरै सोचिने र सोधिने प्रश्न हो - 'अरुले के भन्ला ?' । हामी आफैँले आफैँलाई र हाम्रा नजिकका व्यक्तिहरुलाई पनि यो प्रश्न बारम्बार सोधिरहेका हुन्छौँ ।

धेरै पटक हामी आफ्नो भित्रि मनको कुरा नसुनी यहि एक प्रश्नको निम्ति आफुलाई सावित गर्न लागि परिरहेको पाउछौँ । आफु कुन क्षेत्रमा राम्रो छु , के चाहिँ खासमा आफ्नो उदेश्य हो र आफू के कुरामा अब्बल छु जस्ता कुराहरुलाई ध्यान नै नदिइ हामी केवल अरुले हामीबाट गरेको अपेक्षालाई पूरा गर्न मरीमेटिरहेका हुन्छौँ ।  आफ्नो बास्तविक लक्ष्य के हो ? जस्ता कुराहरुलाई ध्यान दिइ आफ्नो इच्छा, खुबी र सकारात्मक पक्षलाई जोड दिँदै अघि बढ्नुको साटो मैले यसो गर्दा उसले के भन्ला, कतै मेरो खुट्टा तानेर पछार्ला कि जस्ता कुराहरुमा हामी अल्झिरहेका हुन्छाैँ ।

त्यसैले त कति कुशल खेलाडी पढाईमा गुल्टिएर हरेश मानिरहेको छ । सुरिलो स्वरको धनि एउटा केटी चुलोचौकामा ब्यस्त छिन्, किनकि हाम्रो समाजले उसको परिभाषामा सबैलाई बाँच्न दबाब दिइरहेको हुन्छ । एक असल व्यक्तित्वको चिनारी उसको शैक्षिक योग्यतामा मात्र सीमित नभई  उसको बोलिवचन, संस्कार, अर्को व्यक्तिसंग गर्ने आचरण आदिमा पनि हुन्छ ।  कुनै व्यक्तिसँग पीएचडी डिग्री छ तर बानी व्यहोरामा फेल छ भने उसको पढाइको केहि अर्थ रहँदैन भन्ने मेरो बुझाइ छ।

नेपालीको औसत आयुको दर भनेको ७१.७ बर्ष हो । यति बर्षको जीवन पनि हामी अर्काकै लागि खर्च गरिरहेका छौँ|  अरुको खुशी, इसारामा र अरुले कसरी हामीलाई हेर्न चाहन्छ भन्नेमा हामी व्यतित् गरिदिन्छौँ ।  आफ्ना अनेक रहरहरु दबाएर, आफ्नो क्षमतालाई दबाएर बाँचिरहेका हुन्छाैँ ।  एउटा बच्चा जन्मिसके पछि उसलाई असल बानी, व्यवहार सिकाउनु पर्छ| तैले यही गर्न पर्छ वा यो गर्नै हुँदैन भन्दा पनि यो सहि र यो गलत हो भनेर छुटाउन सक्ने योग्य बनाउनु पर्छ ।   त्यसलाई छान्ने अधिकार उसैलाई दिए पछि बल्ल सहि बाटो लाग्दा स्यावासी र गलत बाटो लाग्दा खबरदारी वा सतर्क बनाउन जरुरी छ । कोही पनि व्यक्ति जब अरुको अधिनमा सीमित हुन्छ तब उसले पूर्ण रुपमा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न सक्दै । जब हामी कसैलाई निरन्तर ' तँ अयोग्य छस्, तैले गरेर खादैनस्, तँ नराम्रो छस् ' जस्ता दबाबहरु दिन्छौ तब उसले मनमा आफु अयोग्य छु, मैले केहि गर्न सक्दिन भन्ने छापलाई पूर्ण रुपमा ग्रहन गर्न थालिसकेको हुन्छ र जति नै कोशिश गर्दा पनि उसले राम्रो गर्न सक्दैन किन कि उसले सुनेको नै त्यहि छ तर जब हामी कसैलाई प्रेरणा र हौसाला दिन्छौ तब उ माथि सकारात्मक उर्जाले राम्रो गर्ने हौसला सिर्जना गर्छ ।

यो समस्या हामी जस्ता धेरै विकासोन्मुख देशहरुको समस्या हो जहाँ हरेक सफल व्यक्ति डाक्टर, इन्जिनियर वा ठुलो अहोदामा पुगेकै हुन पर्छ भन्ने धारणा हुन्छ । मान्छे कुनै पेशामा आवद्ध भएर महान हुने होइन बरु  उसको असल बानी व्यहाेराले हुने हो ।  दिनहुँका बलात्कारका घटना, महिला हि‌शा र शोषण, हत्या जस्ता समाचार सुन्नमा आइरहेको बेला झनै अरु ले के भन्ला भन्ने प्रश्न नै मुख्य रुपमा तेर्सिरहेको पाउछाैँ ।  यस्ता कति घटनाहरु समाजमा अरु ले के भन्ला, कुरा काट्ला भन्ने डरले गुमनाम भईरहेको हुन्छ । गल्ति जस्कै भएता पानि नारिको स्वाभिमान र इज्जतमा प्रश्न आउने भएकाले यस्ता घटनाहरु लुकाईरहेको पाइन्छ ।

जिन्दगी आफुले कटाउने हो, यसका सकारात्मक पक्षमा सबै भन्दा धेरै फाइदा हुने पनि आफैँलाई हो र नकारात्मक पक्षमा हानी हुने पनि आफैँलाई हो ।  हामी हाम्रा कयौ क्षमताहरु समाजमा नाम जोगाउन बलिदान गर्छौ तर अन्त्यमा यदि हामी कतै चुकेउ, केहि भुलेउ भने समाजले हामीलाई सहि बाटो तर्फ़ जान सहयोग गर्नु भन्दा उल्टै कुरा काट्दै बसिदिन्छ  । आफुले  भन्दा अरुले धेरै प्रगति  गर्ला कि भन्ने हुट्हुटिले समाज व्याकुल छ ।  तर फेरि बिर्सिदिन्छ समाज कि आखिर भोलि उसको पालो आउन सक्छ । जसले उचित सुझाव दिन्छ, उसका प्रतिक्रियाहरुलाई अनुशरण गर्नु पर्छ, मान्यजनको सल्लाह सुन्नु पर्छ तर कसैको ढोंग बनाई हरेक पाइलामा लडाउन खोज्ने र ‘मुखमा रामराम बगलीमा छुरा’ भिर्नेदेखि चाहिँ सतर्क हुन पर्छ ।

घरिघरि मलाई अचम्म लाग्छ, आखिर के को घमण्ड गर्छ मान्छे? यो संसारमा जन्म भएपछि सबैले आफ्नै कर्म गर्ने हो । कसैको रीस, डाह र इर्श्या गरेर, न उसको भाग्य आफ्नोमा सार्न सकिन्छ न त आफ्नो कर्म नै सुधार्न । आज हो या भोलि, मृत्यु निश्चित छ । तर पनि आफ्नै स्वार्थमा पुरिएर मनगढन्ते कुण्ठाहरुले आफैलाई निरास किन बनाउँछ मान्छे ।

अचेल देखिन्छ बनावटी सम्बन्धहरु प्रति निकै बफादार छ मान्छे, लाग्छ को पराई को आफ्नो भन्ने नै छुट्टाउन नसक्ने भैसक्यो मान्छे । पराइलाई आफ्नो बनाउनु नराम्रो पक्कै होइन तर आफ्नालाई कुल्चेर पराइलाई अंगाल्नु कतिको उचित हजुरहरु आफै मुल्यांकन गर्नुस् । नाता अनि सम्बन्धमा तिक्तता आउनु नौलो कुरा होइन तर आफैँ तमाशा गरेर आफै रोइदिञ्छ मान्छे अचेल ।

त्यसैले नैतिकताको परिधिमा उभिएर, असल व्यक्तित्वको रुपमा कोहि कसैलाई हानि नपुग्ने गरि हामीले आफ्नो काम गर्यौ भने अरुले के भन्ला भन्ने प्रश्न को बारेमा सोचिरहनु पर्ने छैन । राम्रो बन्न नसक्नुको परिणाम नराम्रै बनिनु पर्छ भन्ने पनि छैन| आफुले गरेका कार्यहरुले आफ्ना आगामी पुस्तालाई के असर गर्ला भन्ने पनि सोच्नु पर्छ  । हामी हाम्रा आगामी पुस्तालाई अरु ले के भन्ला भन्ने प्रश्नको झटारो नहानी उनिहरुलाई राम्रो संस्कार दिएर आफै पनि राम्रो समाज बन्न सक्छौँ ।

आखिर एक जिन्दगी हो, आफूलाई एकदमै इछ्या लागेको लक्ष्य चुमौँ, मन परेको खालको जीवन यापन गरौँ, सबै संग दया र मायाले बोलौँ । यो समाजलाई परिवर्तनशील बनाउन पनि हामीले अरुको अपेक्षा अनुरुप जिउन छोड्नु पर्छ । र आजैबाट अरुले के भन्ला भन्ने प्रश्नलाई बेवास्ता गर्दै आफ्नो र सबैको हितको लागि अघि बढ्नु पर्छ। किनकि हिन्दीमा एउटा भनाइ छ, "कुछ तो लोग कहेंगे, लोगों का काम है कहना" ।

  • अस्मिता रिजाल 'असु'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?