साफ उपविजेता टोली स्वदेश फिर्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली युवा टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायत एन्फा पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

नेपाल श्रीलंकाको कोलोम्बोमा बुधबार राती भएको फाइनलमा भारतसँग ४-० ले पराजित हुँदै उपविजेता बनेको थियो । भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । समूह चरणमा नेपालले भारतलाई ३-१ ले पराजित गरे पनि फाइनलमा त्यही नतिजालाई दोहोर्‍याउन नसक्दा उपविजेतामा सीमित बन्न पुग्यो ।

नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले तयारीका लागि छोटो समय भएकाले उपाधि जित्न नसकिएको बताउनुभयो । ‘राम्रो फुटबल खेलेर फर्किएको जस्तो लाग्छ । सानो गल्तीबाट गोल खाएका छौं । जुनियर खेलाडीहरूले केही कुराहरू सिक्दैछन् । यो एएफसी एशियन कप छनोटका लागि पाठ हुनेछ,’ प्रशिक्षक श्रेष्ठले भन्नुभयो, ‘गोल फर्काउन सक्छौं भनेर खेलेका थियौं । भारत दुई वर्षदेखि लगातार खेलिरहेको छ । हामी एक महिनाको टिम बनाएर खेल्न पुगेका थियौं । तर, हाम्रो स्तर त्यति कमजोर थिएन । एक महिनाको अवधिमा यत्तिको खेल्नु भनेको नेपाली फुटबलमा जुनियर खेलाडीले केही गर्छन् भन्ने आशा पलाएको छ ।’

श्रीलंकाको कोलोम्बोस्थित रेस कोर्स ग्राउण्डमा बुधबार राती भएको फाइनल खेलमा भारतले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक/एक गोल गर्नुभयो ।
खेलको १८औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाउनुभएको थियो । त्यस्तै, खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाउनुभयो । खेलको ३९औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो ।

भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाउनुभयो । खेलको ६३औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमनले गोल गर्दै भारतलाई ४-० को जित दिलाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?