नवौं खेलकुदका खेलस्थल तय

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको खेल तालिका र खेलस्थल तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको ११४औं बोर्ड बैठकले खेलतालिका र खेलस्थल तय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय तालिकाका कारण पुरुष क्रिकेट खेल भने हाल काठमाडौंमा भइरहेको छ ।

प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्य-सचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएनए) का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ ।

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै, हृयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराँते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुवातका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’ को व्यवस्था गरिएको छ । लगातार तीनपटक प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताउनुभयो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्णपदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३९३ स्वर्ण, ३९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा ४०८ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६० करोड बजेटको सुनिश्चितता भएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?