नेपाल र बंगलादेशबीचको खेलको तयारी अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशको राष्ट्रिय फुटबल टोलीबीच आगामी असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको जनाएको छ । फिफा डेका अवसरमा हुन लागेको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ । मैत्रीपूर्ण खेलका लागि एन्फाले झण्डै २ महिनादेखि राष्ट्रिय टोलीलाई प्रशिक्षण गराइरहेको छ । कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले नेपाली टोलीलाई प्रशिक्षण गराइरहनुभएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा सहभागिताका लागि बंगलादेशको टोली असोज ७ गते पुग्नेछ । मैत्रीपूर्ण खेलका लागि झण्डै ४९ लाख रूपैयाँ खर्च हुने एन्फाको अनुमान छ । मैत्रीपूर्ण खेल हेर्नका लागि दर्शकका लागि एन्फाले भिआइपीतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँको टिकट दर तोकेको छ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २३ खेल भएका छन् । जसमा नेपालले सात खेल र बंगलादेशले १३ खेल जितेको छ । तीन खेल भने बराबरी भएको छ । बंगलादेश सन् २००३ को साफ च्याम्पियन हो भने नेपाल पछिल्लो संस्करणमा फाइनल पुगेको थियो ।

एशियन कप छनोटको अन्तिम खेल नेपालले असार ६ गते कुवेतमा खेलेको थियो । त्यसपछि नेपाली टोलीले खेल्न थालेको अन्तर्राष्ट्रिय खेल यही हुनेछ । नेपाल र बंगलादेशबीच २०७७ को चैतमा दशरथ रंगशालामा थ्री नेसन्स कपको फाइनल भएको थियो । जसमा नेपाली टोली २-१ ले विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?