पाँच करोड मानिस आधुनिक दासत्वमा बाँचिरहेका छन् : राष्ट्रसंघ

Read Time = 6 mins

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा सन् २०२१ मा विश्वभर करिब पाँच करोड मानिस आधुनिक दासत्वमा बाँचिरहेको दाबी गरिएको छ । रिपोर्टमा कोरोना महामारीका कारण अफगानिस्तान, बंगलादेश, भारत र इजिप्ट जस्ता देशहरूमा पनि जबरजस्ती विवाहको घटना बढेको जनाइएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय मानवअधिकार समूह वाक फ्रीको ‘द ग्लोबल एस्टिमेट्स अफ मोडर्न स्लेभरी’ प्रतिवेदनमा सन् २०२१ मा पाँच करोड मानिस आधुनिक दासत्वमा बाँच्न बाध्य भएको उल्लेख गरिएको छ । जसमध्ये २.८ करोड मानिस बन्धक श्रममा र २.२ करोड जबरजस्ती विवाहमा फसेका छन् ।

पछिल्लो पाँच वर्षमा आधुनिक दासत्वमा सामेल हुनेको संख्या बढेको प्रतिवेदनले जनाएको छ । सन् २०१६ को तुलनामा २०२१ मा एक करोडभन्दा बढी मानिस आधुनिक दासत्वमा सामेल भएका छन् । यो प्रतिवेदनमा भनिएको छ कि विश्वका लगभग हरेक देशमा आधुनिक दासत्व रहेको छ । संस्कृति र धर्मसँग यसको कुनै सम्बन्ध छैन । सबै बन्धक श्रमको आधाभन्दा बढी अथवा ५२ प्रतिशत र एक चौथाई जबरजस्ती विवाह उच्च–मध्यम आय र उच्च आय भएका देशहरूमा पाइएको छ ।

प्रतिवेदनमा सबैभन्दा बढी (८६ प्रतिशत) बन्धक मजदुरका घटना निजी क्षेत्रमा रहेको उल्लेख छ । बन्धक श्रममा आप्रवासी कामदारहरूको संख्या गैरआप्रवासी वयस्क कामदारको भन्दा तीन गुणा बढी हुन सक्छ । २०२१ मा दुई करोड २० लाख मानिस जबरजस्ती विवाह गर्न बाध्य भएका थिए ।

प्रतिवेदनले सन् २०२१ मा विश्वभर करिब २२ करोड मानिसलाई जबरजस्ती विवाह गराइएको अनुमान गरिएको छ । यसले सन् २०१६ को विश्वव्यापी अनुमानको तुलनामा ६६ लाखले वृद्धि भएको संकेत गर्छ । जबरजस्ती विवाहमा विशेषगरी १६ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको विवाह समावेश हुन्छ । प्रतिवेदनमा नाबालिगले यो उमेरमा कानुनी रूपमा विवाह गर्न नसक्ने भएकाले बालविवाहलाई जबरजस्ती विवाह मानिने गरेको छ ।

सोमबार जारी गरिएको यो प्रतिवेदनमा विश्वका हरेक क्षेत्रमा जबरजस्ती विवाहका घटना सार्वजनिक हुनेगरेको उल्लेख गरिएको छ । करिब दुई तिहाइ (१.४२ करोड) जबरजस्ती विवाह एसिया र प्रशान्त क्षेत्रका मात्रै हुन् । १४.५ प्रतिशत (३.२ मिलियन) अफ्रिकामा, १०.४ प्रतिशत (२.३ मिलियन) युरोप र मध्य एशियामा रिपोर्ट गरिएको छ ।

प्रतिवेदनमा क्षेत्रीय जनसंख्याको हिसाबले अरब देशहरूमा सबैभन्दा बढी जबरजस्ती विवाह हुने गरेको उल्लेख छ । यहाँ यो संख्या प्रति हजार व्यक्तिमा ४.८ छ, त्यसपछि एसिया र प्रशान्त क्षेत्रहरूमा प्रति हजार व्यक्तिमा ३.३ छ । जबरजस्ती विवाहको सबैभन्दा कम केसहरू अमेरिकामा छन् । यहाँ यो संख्या प्रतिहजार १.५ छ । प्रतिवेदनमा भनिएको छ, ‘कोरोनाका कारण हरेक क्षेत्रमा जबरजस्ती विवाहको घटना बढेको छ । कोरोना अवधिका कारण नागरिक दर्ता प्रणालीलगायत आधिकारिक तथ्यांक संकलन प्रक्रिया अवरुद्ध भएको थियो ।

प्रतिवेदनमा भनिएको छ कि जसको तथ्यांक उपलब्ध छ ती देशहरूमध्ये अफगानिस्तान, बंगलादेश, भारत, इण्डोनेसिया, सुडान, इजिप्ट, यमन, जोर्डन, सेनेगल, युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोमा बालविवाह र जबरजस्ती विवाहका घटनाहरू बढेका छन् ।

आईएलओका महानिर्देशक गाइ राइडरले भन्नुभयो, ‘आधुनिक दासत्वमा सुधार नआएको र मानवअधिकारको यो उल्लंघनलाई कसैले पनि जायज ठहराउन नसक्नु अचम्मको कुरा हो ।’ उहाँले भन्नुभयो, ‘हामीलाई थाहा छ के गर्न आवश्यक छ ।’ हामीलाई थाहा छ यो गर्न सकिन्छ । प्रभावकारी राष्ट्रिय नीति र नियमहरू आधारभूत छन् । तर, सरकार एक्लैले गर्न सक्दैन । यसमा ट्रेड युनियन, कर्मचारी संगठन, नागरिक समाज र आमजनता सबैको भूमिका हुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?