काठमाडौं । कथाकार रत्न प्रजापतिको नवीनतम कथासंग्रह ‘रित्तो रथ’ पाठकमाझ आएको छ । शिखा बुक्सद्वारा प्रकाशित यस संग्रहमा ३२ वटा कथा संगृहीत छन् । यसमा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका कथा छन् । प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन् । यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति÷विसंगतिलाई कथामा सुरुचिपूर्ण ढंगले केलाइएका छन् । मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन् ।
संग्रहका धेरै कथामा उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई उतारिएका छन् । उपत्यकाको संस्कृतिको विविध आयामलाई कथामा जोड्नु कथाकार प्रजापतिको निजी विशेषता नै हो । यस्तै विशेषता बोकेका कथा हुन् ‘रित्तो रथ’, ‘रंगगीन बाफ’, ‘तेबाचाको फेसबुक स्टाटस’, ‘खर्पन, भुलाँ’, ‘तलमाथि’, ‘अर्कै घरबाट’ लगायत कथाहरू । प्रजापतिका कथा सरल तथा शालीन हुनुका साथै कथामा सहज प्रवाह भएको पुस्तकको प्रकाशकीयमा उल्लेख छ । उहाँका यसअघि ‘बिसञ्चो’, ‘सेतो बादल’, ‘बदाम बेच्ने केटी’ र ‘स्वच्छन्द साँझ’ जस्ता कथासंग्रह प्रकाशित छन् । चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथा सँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख-निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका