एकल गायनमा कुस्मिता

Read Time = 4 mins

काठमाडौं । तीन दशकदेखि जनपक्षीय गीत गाउँदै आउनुभएकी जनगायिका कुस्मिता दर्लामी (हीराकुमारी दर्लामी)को एकल गायन सम्पन्न भएको छ । बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा भएको एकल गायनमा उहाँले १२ वटा गीत प्रस्तुत गर्नुभएको थियो । जनसांस्कृतिक महासंघ नेपालको आयोजना र सांस्कृतिक संस्थानको सहकार्यमा भएको उक्त कार्यक्रममा दर्लामीले अमर गिरीको शब्द तथा शम्भु अमात्यको संगीत रहेको ‘सुन्दर क्षितिज’, रायनको शब्द तथा संगीत रहेको ‘ढुंगाको शालिक’, शरद पौडेलको शब्द तथा संगीत रहेको ‘पानी परेर’ गीत प्रस्तुत गर्नुभएको थियो ।

‘नेपाली क्रान्तिमा जनकलाकार’ भन्ने नाराका साथ गरिएको उक्त एकल गायनमा उहाँले कलाकार हिसान समालको शब्द तथा संगीत रहेका ‘उकालीमा बिसाउने चौतारी’, ‘अविरल बग्ने झर्ना खोली’, ‘मैले बोल्दासँगै रोइदिन्छ भीर पहरा’ लगायत गीत गाउनुभयो । साथै उहाँले मगर भाषाको ‘किसान मजदुर’, मैथिली भाषाको ‘फाटल पहिरवे’, ‘चौरी गोठमा, नहुने के रै’छ र ‘माझी दाइ’ बोलका गीतसमेत प्रस्तुत गर्नुभएको थियो ।

उहाँलाई भागीरथ सुस्लिङले किबोर्ड, सुरज श्रेष्ठले बेस गितार, राजकुमार समालले गितार, राम सुस्लिङले ढोलक, सुनिल बर्देवाले तबला, पूर्ण थापाले बाँसुरी र पदम क्षेत्रीले ड्रममा साथ दिनुभएको थियो । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले कुस्मिता राम्रो स्वर हुनुभएकी प्रतिभाशाली कलाकार भएको बताउनुभयो ।

जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले करिब तीन दशकदेखि कुस्मितासँगै सांस्कृतिक आन्दोलनमा सहभागी हुने अवसर पाएको सुनाउनुभयो । महासंघका केन्द्रीय सचिव हिसान समालले नेपालको युगान्तकारी परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो । उहाँले कुस्मिताले जनताका आवाजलाई तीन दशकदेखि प्रस्तुत गर्दै आएको बताउनुभयो ।

महासंघका महासचिव सुवर्ण हमालले कलाकारले युग बदल्न, जनता जगाउन र क्रान्ति एवं आन्दोलनलाई सशक्त बनाउन विशिष्ट योगदान दिएको सुनाउनुभयो । कार्यक्रममा गायिका कुस्मिताले आफूले सानै उमेरदेखि जनताका गीत गाउँदै आएको बताउनुभयो । विसं ०३८ सालमा भीमेश्वर-८ सिन्धुलीमा जन्मिनुएकी कुस्मिताको गायनयात्रा ०४७ सालदेखि सुरु भएको हो । चार सयभन्दा बढी गीतमा स्वर दिनुभएकी उहाँले मगर चलचित्रका गीतहरूमा स्वर दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?