२२ अर्ब ६३ करोडको शोधनान्तर घाटा

Read Time = 7 mins

काठमाडौं । अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताइए पनि चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना अर्थात् साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्यांकअनुसार २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउनमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ साउनमा १.२ प्रतिशतले कमी आई नौ अर्ब ४२ करोड कायम भएको छ ।

राष्ट्र बैंकमा सञ्चिति २०७९ असारमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउनमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ भने सोही अवधिमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा ६.७ प्रतिशतले कमी आई एक खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । तथापि पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ ।

निर्यात घट्यो
आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, जिंक सिट, तयारी पोशाक, औषधि, पार्टिकल बोर्डलगायतको निर्यात बढेको छ भने सोयाबिन तेल, पिना, जुटका सामान, जुस, अलैंचीलगायतको घटेको छ । चालु आवको पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई एक खर्ब ३१ अर्ब २९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ । पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधि, रासायनिक मल, कच्चा पाम तेललगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपूर्जा, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्ट्स, कच्चा सोयाबिन तेल, हट रोल्ड शिट इन क्वाइललगायतको घटेको छ ।

पहिलो महिनामा कुल वस्तु व्यापारघाटा १०.४ प्रतिशतले कमी आई एक खर्ब १६ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स ९२ अर्ब
रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ७५.४ प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
मूल्यवृद्धि ८.२६ प्रतिशत

आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ ।

२०७८ साउनको तुलनामा २०७९ साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेयपदार्थ र दुग्ध पदार्थ तथा अण्डा समूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ साउनमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?