चुनावकेन्द्रित क्रियाकलापमा दलहरू व्यस्त

मतदाता रिझाउन आ-आफ्नै रणनीतिमा ओली र प्रचण्ड

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आफ्ना प्रचारप्रसारका कार्यक्रमलाई आक्रामक ढंगले अगाडि बढाइरहेका छन् । मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न एक-अर्कालाई आरोप प्रत्यारोप गर्ने शृंखला पनि चलिरहेका छन् । अन्य पार्टीका नेता, कार्यकर्तालाई आफ्नो दलमा भित्र्याउनेदेखि आकर्षक नारा र विभिन्न आश्वासन बाँड्न शीर्ष तहका नेताहरू व्यस्त देखिन्छन् । चुनावी नतिजालाई आफ्नो अनुकूल बनाउन शीर्ष तहका नेताहरू देशका विभिन्न ठाउँका चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् । आफ्ना पार्टीका भावी योजना, नीति र कार्यक्रमको जानकारीभन्दा पनि एक-अर्कालाई गालीगलौज र आरोप प्रत्यारोपमै उनीहरू रमाइरहेका देखिएका छन् ।

देश विकास गर्ने एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमालेले हार्न नहुने जिकिर गर्नुभएको छ । ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि चुनावमा एमालेले हार्नै नहुने बताउनुभएको हो । ‘यो चुनाव पहिलेको जस्तो सामान्य चुनाव होइन, यसको विशेष अर्थ र महत्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यसपटक एमाले हार्न मिल्दैन’, अध्यक्ष ओलीले भन्नुभयो । देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उहाँको जिकिर थियो । आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नेता तथा कार्यकर्तालाई मतवृद्धि र मतरक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले पालिकामा ३८ लाख मत प्राप्त गरिएकोमा अबको चुनावमा ५० लाख मत पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइञ्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बागमती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।

देशको चाबी अब जनताले माओवादीलाई दिन्छन् : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरूले आफूलाई अस्थिरताको कारक भन्ने गरेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले आफू रहेसम्म अस्थिरताको कारक हो भन्ने मानिसको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने कुरा पनि केही मानिसहरूले गर्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड भनेपछि सब अस्थिरताको कारक यही हो, यो रहेसम्म देशले सुख पाउने भएन भन्ने पनि मान्छे छन् । माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन, यो कुरा पक्का हो ।’

अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभयो । तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको उहाँको आरोप थियो । उहाँले भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ ? भन्नेबारेमा विचार गर्न आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचारीलाई कारबाही गरी भ्रष्टाचार गर्नेलाई ठाउँ नदिने शासन प्रणालीको विकास हुन जरुरी रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक दल र उद्योगीहरूमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताउनुभयो । यस्तै, प्रचण्डले स्थानीय तह निर्वाचनमार्फत जनताले देशको चाबी माओवादीलाई दिएको बताउनुभयो । पोष्टबहादुर बोगटीको स्मृतिसभालाई सम्बोधन गर्दै प्रचण्डले तेस्रो भएर पनि माओवादी निर्णायक भएको बताउनुभयो । ‘हामी तेस्रो हुँदाहुँदै पनि निर्णायक भएका छौँ । स्थानीय तह निर्वाचनमार्फत जनताले चाबी हामीलाई दिएका छन्,’ प्रचण्डले भन्नुभयो ।

माओवादी पार्टी कमजोर हुँदा उपलब्धि उल्ट्याउने प्रयास हुनसक्ने उहाँले बताउनुभयो । उहाँले माओवादी केन्द्र रिभाइभ हुने सम्भावना बढेको बताउनुभयो । उहाँले प्रदेश तथा प्रतिनिधिसभाको चुनावमार्फत देशको चाबी माओवादीलाई दिने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?