दुई सय किलोकी मालासँग स्वप्निल वार्तालाप

Read Time = 16 mins

✍️शम्भु कोइराला

नमागिएको सल्लाह :
जे जस्तो भए पनि नियमित स्तम्भ लेखन सजिलो छैन । शुक्रबारको पत्रिकाका लागि बिहीबार अपराहृनसम्म लेख पठाउन बुधबारबाट ताउरमाउर गरेन भने बिहीबार तनाव बढ्न जान्छ । यस पालि मंगलबार अबेर रातिसम्म विषयसम्म फुरेको अवस्था थिएन । संयोग राति सपनामा दुई सय किलोकी मालासँग रोचक वार्तालाप भयो । कुनै समय त घमासान नै होलाजस्तो भयो । चानचुन ७० किलोको पुड्को बान्कीको मनुवालाई दुई सय किलोकी मालाको एउटा फुर्कोले पनि झ्याप्प पार्‍यो भने लोटा ढलेजस्तो ढलेर कहाँ पुगिने हो थाहा छैन ।
सुत्नु अगाडि दुई सय किलोकी मालाको समाचार र चर्चा सुनेर होला राति सपनीमा क्रोधित मुद्रामा दुई सय किलोको माला जंगिन आएको देखेर पहिले त डर पनि लाग्यो । पछि ज्यानलाई जोखिम छैन भन्ने बुझेपछि वार्तालाप सुरु भयो । माला महोदयाको चासो भगवानका पालामा पनि नभएको हात्ती सवार नै गरेर ल्याउनुपर्ने अजंगको माला किन नेपालका असफल नेतालाई लगाइदिएको भन्नेमा थियो । मैले भने सफलता असफलता कसले नाप्ने ? हामीलाई त हाम्रा नेता सफल छन् भन्ने लागेको छ ।

यसो भनेको मात्र के थियो-दुई-दुईपटक संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई सहयोग पुर्‍याउने, अदालतमा प्रधानन्यायाधीशसँग सेटिङ मिलाएर न्यायलाई लेनदेन र खरिदको विषय बनाउने, संवैधानिक अंगमा भागबण्डाको आधारमा खल्तीका मानिस भर्ना गरेर लोकतन्त्रका पहरेदार संस्थालाई अस्तित्वहीन बनाउन खोज्ने, अदालतसँगको लेनदेनका आधारमा पार्टी फुटाएर पार्टी कब्जा गर्ने, दुई तिहाइ नजिकको पार्टी विभाजित बनाई संघीय सरकार र ६ प्रान्तीय सरकारबाट बहिर्गमित गराउने, मध्यरातमा भारतीय गुप्तचर संस्थाका प्रमुखसँग अपारदर्शी वार्तालाप गरेर मुलुकको अस्मितालाई कमजोर बनाउने, सच्चिनुपर्छ भन्नेहरूको उछित्तो काढ्ने, आफ्नो तानाशाही शैलीमा साथ नदिनेहरूलाई अनुशासनको कारबाही गर्ने, चुनावमा टिकट लिन आत्मालोचना गर्नुपर्छ भन्ने, नाम कम्युनिष्ट तर व्यवहार महासामन्तको जस्तो गर्ने नेतालाई सुन्दर पुष्पको माला लगाइदिएर मेरो बेइज्जत गर्ने तिमी मनुवाहरूलाई छोड्दिन भनेर माला महोदया जंगिँदै आइलागिन् ।

समृद्ध नेपाल बन्नका लागि श्रीलंकाका राजापाक्षेको जस्तो नातागोताबाट सत्ता कब्जा गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । रेलगाडी लामो समय बेहुलीजस्तो घुम्टो ओढेर बसेपछि जनतालाई दर्शन दिन थालेको छ । अब केरुङ-पोखरा हुँदै उकालो लाग्ने भएको छ ।

मैले तिर्खाले सुकेर प्याक प्याक भएको मुखलाई सम्हाल्दै भनेँ- महोदया ! क्षमा गर्नुस् यी सबै काम हाम्रा नेताजीले सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि गरिबक्सेको हो, सुखी बन्नका लागि खाडी मुलुक जाने क्रम बढेको छ, मानव तस्करीको व्यापार मौलाउँदो छ । समृद्ध नेपाल बन्नका लागि श्रीलंकाका राजापाक्षेको जस्तो नातागोताबाट सत्ता कब्जा गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको छ । रेलगाडी लामो समय बेहुलीजस्तो घुम्टो ओढेर बसेपछि जनतालाई दर्शन दिन थालेको छ । अब केरुङ-पोखरा हुँदै उकालो लाग्ने भएको छ, म्याग्दीमा रेल स्टप बन्ने कुरा नेताले पक्कापक्की गरिबक्सेको छ । यति भनेको मात्र के थिएँ, यस्ता हावादारी कुरा गर्ने नेताको बखान गरेर साँखुल्ले बन्ने भनेर महोदया त झनै पो असन्तुष्ट भइन् । मैले पनि कुरा अर्कोतर्फ मोड्नु पर्‍यो भनेर जुक्ति निकाल्दै भनेँ अर्का नेता हुनुहुन्छ जो अब एक मौका पायो भने यो देशको कायापलट गरिदिन्छु भनेर भाषण गरिरहनु भएको छ-उहाँको गाथमा त महोदया अति सुहाएको देखियो नि ! भनेर सोधेछु । मनुवाले त्यो सशस्त्र युद्धका नाममा १७ हजार मानिसको बलि दिएर देशको अवस्था अझ खराब बनाउने नेताको कुरा ग¥या होला भनेर झनै पो जंगिइन् ।

महोदया ! जंगिनु भएन उहाँ नेताजी त पोखरातिर पेटभर खाना नपाएर तराईतिर झरेको र सबैलाई पेटभर खान दिने बाचाबन्धन गरेर टाउकोमा कात्रो बाँधेर निस्किएको नेता हो । उहाँको गाथमा त महोदयालाई सुन्दर देखिएको थियो नि भनेको मात्र के थिएँ–त्यो कुनै ठेक्का लिएको आयोजना सम्पन्न नगर्ने ठेकेदारको घरमा बडी गार्डजस्तो बसेर विकास आयोजना अलपत्र पार्न सघाउने ठेकेदारको घरमा बस्ने नेताको कुरा नगर्नुस्, उनले पनि मेरो हुर्मत लिएको धेरै वर्ष भइसक्यो ।

अब त महोदयालाई चित्त बुझ्ने कुरा गर्नु पर्‍यो भनेर-महोदया ! आफ्नो पार्टीको संगठन कमजोर भए पनि, आफ्ना कार्यकर्ता मर्कामा परे पनि वास्ता नगर्ने, विधानमा लेखिएको विषयलाई वास्ता नगरी विधानको बर्खिलाप पार्टी सञ्चालन गर्दा अत्यधिक मत ल्याएर सबै किसिमका चुनाव जित्ने, आफ्नो दलबाहेक सबै दल र गुट मिलाउन सक्ने, पाँच-पाँचपटक प्रधानमन्त्री हुँदा केही नगरे पनि अर्को पटक हुने साइत जुरेका, आफू नभए आफ्नी पत्नीलाई आफ्नो आसनमा विराजमान गराउने चाहनामा ब्यग्र, आफ्नी पत्नीलगायत आफन्त महिलाहरूको विकासका पक्षधर, भाग्यले अति साथ दिएका भाग्यमानी नेता होइबक्सिन्छ, उहाँको गाथमा त अति खुलेको देखिएको छ नि ! भन्नासाथ महोदयाले भनिन्-त्यो आफूले बोलेको कुरा आफैँमात्र बुझ्ने नेताको कुरा गरेको होला, चुपलाग मनुवा भनेर पो झपारिन् । पाँचपटक प्रधानमन्त्री भएको मानिसले गरेका पाँचवटा काम गनेर देखाऊ त भनेपछि औंलामा गन्न थालेको त ऐंठन भएजस्तो भएर औंला भाँचेर गन्नै सकिएन छ ।

ऐंठनबाट यसो सामान्य अवस्थामा फर्केपछि महोदयाले भनिन्- ‘जस्को सिङ छैन उसैको नाम तिखे’ भनेजस्तो यो सय, दुई सय किलोको माला लगाउने फेसन मधेस प्रदेशमै गर्नुपर्ने किन ? मानव विकास सूचकांक, जीवनस्तरमा कमजोर भएको, मिटरब्याजीहरूले गरिबहरूलाई झन्-झन् गरिबीको रेखामुनि धकेलिरहेको, महिला हिंसाको नाजुक अवस्था रहेको स्थानका ढोंगी मनुवालाई त मेरोजस्तो फूलको माला होइन भित्रीवस्त्रको टाला लगाउनुपर्नेमा यो नौटंकी किन गर्नुपरेको होला भनेर महोदया क्रोधित पो भइरहेकी थिइन् । छिमेकी विहारतिर एकजना नेता थिए लालु, सायद अहिले जेलतिर झाडु लगाइरहेका होलान्- उनैबाट पो यी मनुवाहरूले नक्कल गरेछन् कि क्या हो ? अब त जो आए पनि सयौं किलोको माला लगाएर नेताको चाकडी गर्ने तरिका पो बनाएछन् भनेर महोदयाले निराशा प्रकट गरिन् । सुशासन खस्कँदो छ, नेतृत्वको मार्गदर्शन नपाएर तराईका समथर हरिया फाँट छोडेर अरबको मरुभूमिमा पसिना बगाउन अधिकांश युवाशक्ति पलायन भइसकेको छ । त्यो पलायन रोकेर मातृभूमिमा नै अवसर कसरी खोज्ने भन्नेमा तल्लीन रहनुपर्ने नेताहरू पराइदेशबाट विदेशी मुद्रा खर्च गरेर ल्याइएको मेरो शरीर उनीहरूको गलामा राखेर बडप्पन देखाउनमा व्यस्त छन् ।

यति राम्रो धर्ती छ । प्रकृतिका अनुपम राम्रा वरदानहरू यहीँ छन् । यहीँ मेरो उत्पादन गरे पनि म चिन्तित बन्ने थिइनँ तर दुर्लभ विदेशी मुद्रा खर्चेर ल्याएको मेरो शरीर सुपात्रको हातमा परे पनि चित्त बुझाउने थिएँ नि ! भन्दै सुस्केरा हालिन् । न्यायप्रणाली, न्यायका मर्यादा ध्वस्त पार्ने अर्का मनुवा पनि बालुवाटारतिर नै होलान्, ती मनुवाले न्यायालयको संसारमा बिरलै देखिने किसिमको अपमान र बेइज्जत गरे अनि संसदीय समितिमा पुगेर सबैलाई आरोपित गरेर पानीमाथिको ओभानो बन्न खोजे यिनले र तिनका भ्रष्ट चाकडीबाजले मलाई गलामा झुण्ड्याएर अदालत गएर अदालतको बचेखुचेको साख पनि निमिट्यान्न पार्न बेर छैन भन्दै दुखेसो गरिन् । ती मनुवाले एकजना दुई सय किलोको माला लगाउने समृद्धिको नारा दिने नेताबाहेक कसैलाई आरोपित गर्न बाँकी राखेनन् । ती नेताको खातिरदारी नगर्दा दुई तिहाइको डण्डा आइलाग्ने भयले बालबठ्याइँ गरेका होलान् नि ! भन्दै सुस्केरा हालिन् । बालेन्द्र साह भन्ने एउटा मनुवा चाहिँ अरूभन्दा फरक र अचम्मको निस्किएछ– अरू माला कसले लगाइदिएला भन्दै हिँड्ने, मेरै शरीरले थिचेर प्राण पखेरु उडे पनि यस्तो भद्दा काम नगर्नु भनेर नभन्ने, यो बालेन मनुवा चाहिँ माला लगाउन पनि शर्त राख्दै हिँड्ने र काम सम्पन्न नभएसम्म माला नलगाउने प्रण गर्दै हिँड्ने ।

अरू माला कसले लगाइदिएला भन्दै हिँड्ने, मेरै शरीरले थिचेर प्राण पखेरु उडे पनि यस्तो भद्दा काम नगर्नु भनेर नभन्ने, यो बालेन मनुवा चाहिँ माला लगाउन पनि शर्त राख्दै हिँड्ने र काम सम्पन्न नभएसम्म माला नलगाउने प्रण गर्दै हिँड्ने ।

यो बालेन मनुवाले काठमाडौंको मुहार फेर्ने अठोट गरेको छ रे । भत्कायो-भत्कियो भनेर विरोध भएको छ रे तर सपार्नका लागि केही बिगार्नैं पर्छ । मेरै कुरा गरौँ न, म पनि बिगारेर जमिनमा नराखेसम्म उम्रिन्न । सडक अधिकार क्षेत्रभित्रको जग्गामा बनेको र एक लेन नै रोकेर बसेको कोटेश्वर-जडीबुटी क्षेत्रको घर भत्काउन वर्षौंदेखि कुनै निकायले सकेका थिएनन् । बाटोमा जाममा परेर म स्वयं नै कैयौं पटक मुर्झाएको छु । त्यो बाटो खुलेकोमा मलाई औधि गर्व लागेको छ । मेरो शरीरको अधिकार त उसलाई पो हुनुपर्ने हो । सबैकी प्रिया म खोइ किन उसलाई चाहिँ किन मन नपरेकी हुँ । सायद धेरै मोटी भएकाले होला । मेरै शाखा सन्तान साना, खिरिला जस्तो स्वरूपमा खोजे पनि छन् नि त्यही भए ग्रहण गरे हुने नि । गर्लान्, उनको केही लक्ष होला, सपना होला, त्यो पूरा भएका बखत पक्कै हाम्रो खोजी हुनेछ । उनले नमाने पनि कामबाट लाभान्वित बनेका मनुवाहरूले खोजी खोजी लगाउनेछन्, त्यसबेला भने उनले पक्कै अस्वीकार गर्ने छैनन् । यी सयौं किलोको माला धारण गर्ने र गराउने चाहिँ स्वार्थी र ढोंगी हुन् नि । त्यस भद्दापनले हाम्रोबारेमा गलत भाव फैलने र घृणा बढ्ने डर भइसक्यो ।

बालेनका लागि हामी खिरिलो र रूपवती बनेर आउने छौँ । त्यो दिन चाँडै आओस् । उनी र उनीजस्ताको हृदयमाथि हामी बस्नेछौँ । उनीहरूको हृदयमा जनता बस्नेछन् । एउटा कुरा नबिर्सिनु नि, आगामी मंसिर चार गते हुने चुनावमा मेरो दुई सय तीन सय किलोको शरीर रोज्ने आडम्बरीलाई मत नदिएर दृढनिश्चयी र कर्मयोगीलाई छनौट गर्नू, अन्यथा खैरियत राम्रो हुनेछैन भनेर तल झुण्डिएको गुच्छाको पुञ्जले हानौँला जस्तो के गर्दै थिइन्, डरले झल्यास्स ब्युझन्छु त त्यो त सपना पो रहेछ । ओछ्यानमा घेरिएर सोचेँ सपनाका बारेमा के गम्भीर बन्नु ?

अब बिउँझिएपछि वास्तविक जीवनलाई अगाडि बढाउनुपर्छ । तथापि, त्यो सपना वास्तविक जीवनका लागि पनि त उपयोगी छ, वास्तविक जीवनमा पनि माला लगाएको सुहाउने उपयुक्त पात्रको खोजीमा लाग्दा के बिग्रियो र ? दुई सय किलोकी मालालाई होइन हाम्री र राम्री मालालाई सुहाउने जोडी आगामी मंसिरको चुनावमा खोजौँ न ल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?