के गरिब ऋणी देशहरू चीनको टाउकाको भारी हुन् ?

A A- A+

✍️ श्रीमननारायण

चिनियाँ राष्ट्रपति सी जिनपिगको महत्वाकांक्षी आर्थिक तथा राणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत लगानी गरिएका ऋण समयमै उठ्न सक्ने सम्भावना नदेखिएका कारण यो कतै स्वयं चीनका लागि नै समस्या त हुने होइन ? भन्ने प्रश्न पनि उठिरहेका छन् । सधैँ ऋणमै रहिरहने गरिब देशहरूले चीनबाट बढी ऋण काढेका छन् । यी देशहरू चाहेर पनि समयमै ऋणको राशि चुक्ता गर्न सकिरहेका छैनन् । कतिपयलाई त ब्याजको राशि चुक्ता गर्न समस्या भइरहेको छ ।

बिआरआई अन्तर्गत लगानी गरिएको पैसा समयमै फिर्ता आउने सम्भावना नदेखिएका कारण अब यसको असर चारैतिर देखापर्न थालेको छ । सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीभित्र पनि अब यस परियोजनाको संलग्नतामाथि आशंका व्यक्त गर्ने काम भइरहेको छ । तर, यसको निम्ति ती देशहरूमात्रै जिम्मेवार हुँदैनन् अपारदर्शी तरिकाले ऋणको लगानी गर्ने देश चीन त्यत्तिकै जिम्मेवार छ ।

अन्तर्राष्ट्रिय ऋण सम्झौताका लागि गोपनीयता आवश्यक छ भन्दै चीनले गोपनीय सम्झौतालाई त्यसमा सामेल गराइहाल्छ र आफ्नो विदेशी ऋणको बारेमा कसैलाई पनि जानकारी नै गराइरहेको हुँदैन । केही महिनाअघि मात्रै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले आफूलाई चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक)अन्तर्गतको ऋण सम्झौताबारे केही पनि जानकारी नभएको बताएका थिए । विश्वका अन्य कतिपय देशका शासकहरूको पनि यही गुनासो रहिआएको छ । नेपालले पनि बिआरआईको सहयोग अनुदानमात्रै भए लिइने तर ऋण भए त्यसलाई स्वीकार गर्न नसकिने बताएको छ । चिनियाँ ऋणमा चुर्लुम्म डुबेर कमजोर भएको श्रीलंकासित यसको कटु अनुभव छ ।

चीनले कर्जा दिएको राष्ट्रबाट समयमै पैसा फिर्ता पाउन सकेन भने ती देशका महत्वपूर्ण सम्पत्तिहरूमा आफ्नो कब्जा जमाउने काम गरेका उदाहरण छन् । एक किसिमले चीनले ती देशहरूको प्रमुख प्रतिष्ठानलाई आफ्नो कब्जामा लिन ऋणको जालो प्रयोग गर्दै आएको छ ।

विश्व बैंक, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषलगायत वित्तीय संस्थाहरू र चिनियाँ ऋण दिने शर्तमा निकै अन्तर रहेको पाइन्छ । अन्तर्राष्ट्रिय ऋणको व्याजदर १.५ प्रतिशतसम्म हुने गर्दछ जबकि चिनियाँ ऋण चार प्रतिशतभन्दा कममा त उपलब्ध नै हुँदैन । यसैगरी अन्तर्राष्ट्रिय ऋणको चुक्ता अवधि २५ देखि ३० वर्षको हुन्छ भने चिनियाँ ऋणलाई १० देखि १५ वर्षभित्रै चुक्ता गर्नुपर्ने हुन्छ । समयभित्र ऋण तिर्न नसक्ने अवस्थामा अन्तर्राष्ट्रिय ऋणलाई अनुदानलगायत विभिन्न माध्यमबाट व्यवस्थापन गरिन्छ जबकि चीनलाई सम्बन्धित उपक्रमै लामो समयसम्म हस्तान्तरण गर्नुपर्दछ ।

चिनियाँ लगानी प्राप्त गरेको श्रीलंका ऋण तिर्न असमर्थ भएका कारण हम्बनटोटा बन्दरगाहलाई ९९ वर्षका लागि भाडामा दिन बाध्य भएको छ । यदि चीनले कर्जा दिएको राष्ट्रबाट समयमै पैसा फिर्ता पाउन सकेन भने ती देशको महत्वपूर्ण सम्पत्तिमा आफ्नो कब्जा जमाउने काम गरेका अन्य उदाहरण पनि छन् । एक किसिमले चीनले ती देशहरूको प्रमुख प्रतिष्ठानलाई आफ्नो कब्जामा लिन ऋणको जालो प्रयोग गर्दै आएको छ ।

एक अध्ययनले त चीनले विकासशील देशहरूको ५० प्रतिशत ऋण ती देशहरूको आधिकारिक ऋण आकडामा सामेल नै भएको पाइँदैन । ४० प्रतिशतभन्दा बढी निम्न र मध्यम आय भएका देशरूमा चिनियाँ ऋण लिनेहरू छन् । यसरी अदृश्य रूपमा लुकेर ऋण काढेकाकै कारण ती देशहरूको कूल गार्हस्थ उत्पादनको आकार १० प्रतिशतभन्दा बढी छ । जीबोटी, लाओस, जाम्बिया र किर्गिस्तानमाथि चीनको ऋण ती देशहरूको वार्षिक जिडिपीको कम्तीमा २० प्रतिशतको नजिक छ ।

सन् २०२२ मा कम आय भएका देशहरूले चीनलाई आफ्नो कूल ऋणको ३७ प्रतिशत भुक्तान गरेका थिए जबकि बाँकी विश्वको दुई पक्षीय ऋणमा २४ प्रतिशतको तुलनामा चीनलाई उपरोक्त देशहरूको मनपर्दी ऋणदाता बनाउने काम गर्‍यो । चिनियाँ ऋण दिने शैली विश्व बैंक, आइएमएफ र पेरिस क्लबजस्ता पारस्पारिक र आर्थिक ऋणदातालाई उछिनेर अगाडि बढिसकेको छ ।

विश्वभरिका १५० भन्दा बढी देशलाई प्रत्यक्ष ऋण तथा व्यापार ऋणमा लगभग १.५ ट्रिलियन डलरको लगानी गरेर चीन विकासशील देशहरूको सबैभन्दा ठूलो साहुमहाजन बन्नगएको छ । सन् २०२० सम्म चीनले निम्न र मध्यम आय भएका देशलाई एक हजार सात सय आठ ट्रिलियन डलरको ऋण लगानी गरेको थियो । जबकि सन् २०१० सम्मको आकडा चालीस विलियन डलरको मात्रै थियो । आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभको आधाभूत संरचनासित जोडिएका परियोजनालाई धन उपलब्ध गराउने गर्दछ । तर, यसअन्तर्गतका सहायताहरूले पश्चिमेली सरकारहरूको तुलनामा बढी ब्याजदरमा ऋण उपलब्ध गराउने गर्दछ ।

विश्व बैंक र चीनले ऋण प्रदान गर्ने गरेकाको तुलना गर्ने हो भने यसमा ठूलो अन्तर रहेको पाइन्छ । एकातिर चीनले प्रदान गर्ने ऋणको प्रकृति गोप्य हुने गर्दछ भने अर्कोतिर विश्व बैंकको ऋण आधिकारिक र सांख्यिकीय दृष्टिकोणले पारदर्शी हुने गर्दछ । जहाँसम्म ऋणको पुनःभुक्तानको अवधिको कुरा हुन्छ चिनियाँ ऋणको अवधि १० वर्षको मात्रै हुन्छ जबकि विश्व बैंकको अवधि लगभग २८ वर्षको हुने गर्दछ । त्यसैगरी चिनियाँ ऋणको ब्याजदर ४ प्रतिशत मात्रै हुन्छ जबकि विश्व बैंकले लिने ब्याजदर २.५ प्रतिशत मात्रै हुने गर्दछ ।

प्रायः चीनका आलोचकहरू उसमाथि अरू देशको प्रमुख प्रतिष्ठानमाथि कब्जा जमाउने नीति रहेको आरोप लगाउने गर्दछन् । यो आलोचनामात्रै होइन किनभने श्रीलंकाली बन्दरगाह हम्बनटोटा एउटा सशक्त उदाहरण पनि हो चिनियाँ ऋणबाट बनाइएको यस बन्दरगाहको ७० प्रतिशत शेयर अन्ततः चीनले नै लिने काम गर्‍यो । एक अन्य उदाहरण लाओस रेलवेको पनि हो जसले गर्दा देशमाथि ऋणको भारी थप्दै आएको छ र अन्ततः त्यसमा पनि ७० प्रतिशतको स्वामित्व चीनको भएको छ ।

चीनका आलोचक उसमाथि अरू देशको प्रमुख प्रतिष्ठानहरू माथि कब्जा जमाउने नीति रहेको आरोप लगाउने गर्दछन् । श्रीलंकाली बन्दरगाह हम्बनटोटा यसको एउटा सशक्त उदाहरण पनि हो । चिनियाँ ऋणबाट बनाइएको यस बन्दरगाहको ७० प्रतिशत शेयर अन्ततः चीनले नै लिने काम गर्‍यो ।

कुनै जमानामा युरोपेली राष्ट्रहरूले गरिब राष्ट्रलाई आफ्नो ऋणको जालोमा पारेर ९९ वर्षसम्म ती देशका गौरवशाली प्रतिष्ठानहरूलाई आफ्नो नियन्त्रणमा लिने गर्दथे । त्यतिबेला त चीनले यसलाई साम्राज्यवाद विस्तारवादको र उपनिवेशवादको संज्ञा दिएर चर्को विरोध गर्ने गर्दथ्यो, तिनका अनुयायी विश्वभरिकै कम्युनिष्ट त्यसलाई सोही किसिमले नामाकरण गर्ने गर्दथे । आज स्वयं चीनले नै श्रीलंकाको हम्बनटोटा बन्दरगाहलाई ९९ वर्ष निम्ति आफ्नो नियन्त्रणमा लिँदा त्यसलाई कुन रूपमा परिभाषित गर्ने ? स्वयं कम्युनिष्टकै शब्दकोशमा यसको निम्ति कुन शब्द उपयुक्त होला ?

मध्य एसिया र पूर्वी सोभियत साम्राज्यका आर्थिक रूपले कमजोर कजाकिस्तान, उजेकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू सन् २०१३-१४ बाट बिआरआईमा संलग्न छन् तर हिसाब गर्दा देशको कूल जिडिपीको २५ देखि ५० प्रतिशतसम्म रकम चीनलाई ऋण चुक्ता गर्नमै खर्च गरिरहेका छन् । अब ती देशहरू बिआरआईबाट पन्छिन खोज्दैछन् । त्यसैगरी जीबोटीले कूल जिडिपीको ७५ र लाओस, माल्दिभ्स, मंगोलिया र मोन्टेग्रो जस्ता देशहरू आफ्नो कूल जिडिपीको ५० देखि ८० प्रतिशतसम्म ठूलो रकम चीनलाई ऋण चुक्ता गर्न खर्च गरिरहेका छन् ।
चिनियाँ ऋण सबैको निम्ति गलपासो सावित भइरहेको छ । अब त कतिपय देशहरूले यसको विरोध गरिरहेका छन् । स्वयं चीन निरन्तर रूपमा ऋणमै रहिरहने देशलाई सापट दिएर आफ्नो टाउकोमा ठूलो भारी बोकेर हिँडेको अनुभूति गर्न थालेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?