पाँच जनामा डेंगु रोग देखिएपछि भोजपुरमा पनि सचेतना अभियान

हिमालय टाइम्स
Read Time = 3 mins

-निरोज कोइराला

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पाँच जनामा डेंगु रोग देखा परेपछि सवै क्षेत्रमा सचेतना अभियान संचालन गरिने भएको छ । जिल्लामा हालसम्म भोजपुर नगरपालिका वडा नम्वर-८ मा १ जना, वडा नम्वर-७ मा १ जना, वडा नम्वर-१२ मा २ जना र षडानन्द नगरपालिका वडा नम्वर-५ मा १ जनामा परीक्षणका क्रममा डेंगु देखिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले जनाकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय भोजपुरले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसँग अभिमुखीकरण नै गरेको छ । सो क्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले रोग नियन्त्रणका लागि सवै पालिकाहरुसँग समन्वय गर्ने बताउनुभयो । उहाँले जिल्ला तहमा यसको नियन्त्रण र ब्यवस्थापनका लागि सवै पालिका र सरोकार पक्षहरुलाई रोग नियन्त्रणका लागि जुटन आग्रह समेत गर्नु भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले डेंगु रोगले पनि महामहारीकोरुप लिन सक्ने भएकाले रोग नियन्त्रणका लागि सवै पक्षले कार्यस्थल मै पुगेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले यही अवस्थामा जिल्ला तहमा नियन्त्रण गर्न आवश्यक देखिएको पनि बताउनुभयो ।

परीक्षणका लागि किटको समस्या भएमा नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने भोजपुर नगरपालिकाका उपसचिव रामप्रसाद ढुंगेलले बताउनुभयो । भोजपुर नगरपालिका-८ का वडा अध्यक्ष नविन प्रधानले आफनो वडामा पनि एक जनामा डेंगु रोगी भेटिएकाले स्थानीयको सहयोगमा सरसफाईका साथै पानी बढी जम्ने खाल्डाहरु ब्यवस्थापन गर्न लागिएको बताउनु भयो । सो क्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले रोग नियन्त्रणमा सवै पक्षको सहयोग आवश्यक रहेकोले सरोकारवाला सवैलाई सहयोगका लागि आग्रह समेत गर्नु भएको थियो ।

अभिमुखीकरणमा स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?