सिन्धुलीमा हात्तीको त्रास कम नहुँदै बाघको आतंक

फाईल तस्बिर

Read Time = 4 mins

-राधिका बुढाथोकी
सिन्धुली । जिल्लामा जंगली हात्तीको त्रास कम नहुँदै पाटे बाघले आतंक मचाएका छन् । दिनमा जंगल देखिने चार वटा बाघले बुधबारदेखि बस्तीमा पसेर आतंक मचाएका हुन् ।

गोलन्जोर गाउँपालिका–२ बितिजोर र ३ भुवनेश्वरी क्षेत्रका जंगलमा पन्ध्र दिनदेखि देखापरेका बाघ रातको समय बस्तीमा पसरे पशुचौपायलाई आक्रमण गर्न थालेका छन् । अहिलेसम्म बाघको आक्रमणबाट मानिस बचेको भएपनि पशुचौपायलाई बचाउन नसकिएको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीले बताउनु भयो ।

उहाँका अनुसार जंगल र बस्तीमा डुलिरहने चारवटा बाघले दश दिन यता बाइस वटा पशूचौपायलाई आक्रमण गरिसकेका छन् । ‘हालसम्म पन्ध्र वटा खसीबाख्रा, छ वटा कुकुर र एक वटा गाईलाई बाघले मारिसकेका छन्,’ स्थानीयलाई उदृत गदैँ वडा अध्यक्ष कार्कीले भन्नुभयो ।
समूहमा रहेका बाघले जंगलमा चरिरहेका र गोठमा बसिरहेका गाई, खसी, बाख्रा र कुकुरलाई मारेर खानेसमेत गरिरहेका उहाँको भनाई छ । बुधबार आफुले पालेको एउटा कुकुरलाई घरैमा आएर बाघले खाइदिएको उहाँले बताउनु भयो ।

गाउँपालिका–२ का स्थानीयबासिन्दा प्रकाश कार्कीले विहिबार आफुले पालेका दुई वटा बाख्रा जंगलमा चरिरहेको अवस्थामा बाघले मारिदिएको दुखेसो गर्नुभयो । वडा नम्बर ३ का जीवन घिमिरेले आफ्नो पनि तीन वटा बाख्रा बाघको आक्रमणमा परेका बताउनु भयो ।
एक वटा दुधालु गाईलाई बाघले आक्रमण गरेपछि अमर कार्की चिन्तित हुनुहुन्छ । ‘गोरस विना खाना रुच्चैन । एउटा दुध दिइने गाई बाघले खाइदियो, अर्को किन्ने पैसा छैन,’ उहाँले भन्नुभयो ।

जंगली पाटे बाघले मानिसलाई समेत आक्रमण गर्ने भय उत्पन्न भएको उहाँले बताउनु भयो । उहाँका अनुसार जिल्लामा यस प्रकारको पाटे बाघ पहिलो पटक देखिएको हो । यसअघि जंगलमा चितुवा भने देखिने गरेको थियो ।
गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ ले बाघको आक्रमणबाट बच्न र बचाउन डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको बताउनु भयो । बाघले थप क्षती नपुर्याओस भन्नका लागि सबैलाई सचेत र सजक रहन भनेका छौँ, पालिकाकोतर्फबाट थप पहल भइरहेका छ,’ उहाँले भन्नुभयो ।

वडा अध्यक्ष कार्कीले वन, जंगलमा घाँस दाउरा जाँदा वा बस्तुभाउ चराउँन लैजाँदा एक्लै नजान सुझाव दिएको बताउनु भयो । उहाँले सामाजिक संजाल फेसबुक मार्फत जंगल छेउछाउका घरमा बालबालिकालाई एक्लै छाडेर नहिँड्न समेत आग्रह गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?