पुष्प क्षेत्र हेर्न छुट्टै निकाय माग

Read Time = 3 mins

ललितपुर । सरकारले पुष्प व्यवसायलाई उपेक्षा गरेको पुष्प व्यवसायीले गुनासो गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को ३०औं साधारणसभामा उनीहरूले उक्त गुनासो गरेका हुन् । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले कोरोनाकालमा सबैभन्दा बढी क्षति पुष्प व्यवसायमा भए पनि पुष्प व्यवसायीले कुनै राहत नपाएको बताउनुभयो । साथै उहाँले पुष्प क्षेत्रका समस्या समाधानका लागि छुट्टै क्षेत्र आवश्यक रहेको पनि बताउनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रायल मातहत रहने गरी एउटा पुष्प विकास केन्द्र स्थापना गरिनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष तामाङले नेपाली पुष्प क्षेत्रले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उहाँले अवैध भारतीय फूल आयात रोक्न पनि माग गर्नुभएको छ । भारतीय सीमा नाका २४सै घण्टा खुले पनि क्वारेन्टाइन कार्यालय समयमा खुल्ने हुँदा अवैधरूपमा फूल, बिरुवा भित्रिने गरेको उहाँले बताउनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रले पुष्प क्षेत्र विकासका लागि मन्त्रालयको पूर्ण सहयोग रहने बताउनुभयो । तथापि जनशक्ति अभावका कारण नाकामा रहेका क्वारेन्टाइन कार्यालय भने २४सै घण्टा सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । कृषि विभागकी उपमहानिर्देशक शान्ता कार्कीले स्वदेशी उत्पादनले माग धान्ने अवस्था भएमा भन्सार कर बढाउन सकिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले विगत वर्षहरूमा वार्षिक १९ करोड रुपैयाँ बराबरको फूल निर्यात हुने गरेकोमा एक करोडमा झरेको बताउनुभयो । उत्पादन र निर्यात बढाउन भारतबाट हुने आयातलाई निरुत्साहित गरिनुपर्ने उहाँको भनाइ छ । महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचनले फूल उत्पादन बढाउन यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताउनुभयो । नेपालमा वार्षिकरूपमा भारतबाट ३८ करोड रुपैयाँ बराबरको फूल आयात हुने गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?